पौडी खेल्ने क्रममा डुबेर एकै घरका दुई दाजुभाइसहित तीन जनाको मृत्यु
उदयपुर । उदयपुरको कटारी नगरपालिका–३, हडैयामा पौडी खेल्ने क्रममा डुबेर तीन बालकको मृत्यु भएको छ । मृतक मध्ये दुई जना एकै घरका दाजुभाइ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश बहादुर बमका अनुसार मृत्यु हुनेमा कटारी नगरपालिका–३ निवासी ११ वर्षीय सुमितकुमार दनुवार, उनका ७ वर्षीय भाइ सुगमकुमार दनुवार तथा उनीहरूकै नातेदार ८ वर्षीय आदित्यकुमार दनुवार रहेका छन् ।
प्रहरीका अनुसार बिहीबार साँझ करिब साढे पाँच बजे तीनै जना बालक बेपत्ता भएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कटारी र सशस्त्र प्रहरी बल नेपाल, कटारीको संयुक्त टोली तत्काल खोजीमा खटिएको थियो । खोजतलासका क्रममा कटारी–३ स्थित हडैया खहरे खोलामा पानी जमेर बनेको गहिरो खाल्डोमा पौडी खेल्ने क्रममा डुबेको अवस्थामा उनीहरू फेला परेका थिए ।
स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कटारी लगिएको थियो । तर चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका छन् ।
मृतकहरूको शव अहिले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कटारीको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
एकै परिवारका दुई दाजुभाइसहित तीन बालकको असामयिक निधनले कटारी–३ हडैया क्षेत्र शोकमग्न बनेको छ ।








प्रतिक्रिया राख्नुहोस्