तपाईँ सुन्दै हुनुहुन्छः

बैतेश्वर पालिकाले सुरु गर्‍यो भूमि व्यवस्थापनको काम

दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकाले नागरिकलाई भूमिसँग सम्बन्धित मालपोत र नापीको सेवा पालिकाबाटै उपलब्ध गराउने उद्देश्यसहित सोमवारबाट भूमि व्यवस्थापन शाखा सञ्चालन गरेको छ । दोलखामा भूमि व्यवस्थापन शाखा पालिका स्तरमा सञ्चालन गर्ने बैतेश्वर गाउँपालिका पहिलो भएको छ ।

भूमि व्यवस्थापन शाखाको उद्घाटन गर्दै पालिका अध्यक्ष छवि लामाले नागरिकलाई आफ्नै पालिकाबाट भूमि सम्बन्धि सबै सेवा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले शाखा सञ्चालन गरिएको बताए । 

बैतेश्वर गाउँपालिकामा राष्ट्रिय– अन्तर्राष्ट्रिय स्तरका विभिन्न सहकारी संस्थाहरू समेत रहेकोले भूमिसम्बन्धी काम धेरै हुने भएपछि पालिकाले भूमि व्यवस्थापन शाखा सञ्चालन गरेको अध्यक्ष लामाले बताए । 

बैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोचन खनालले नागरिकको भूमि सम्बन्धि अभिलेख सुरक्षित राख्नु सबैभन्दा ठूलो चुनौतीको विषय भएकोले शाखामा कार्यरत कर्मचारीहरूले सजग र संवेदनशील भएर काम गर्नुपर्ने बताए । 

पालिकामा भूमि व्यवस्थापन शाखा सञ्चालन भएपछि नागरिकले विगतमा मालपोत र नापी कार्यालयबाट लिँदै आएको सम्पुर्ण सेवा पालिकाबाटै प्राप्त गर्ने जनाइएको छ । 

शाखा उद्घाटन कार्यक्रममा बैतेश्वर गाउँपालिकाका उपप्रमुख कल्पना उप्रेती, नेपाल पत्रकार महासङ्घ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेल, पालिकाका प्रवक्ता एवम् वडा अध्यक्ष श्यामकुमार तामाङ, भूमि प्रशासन कार्यालय दोलखाका एकलाल तामाङ, अर्जुन प्रसाद चौलागाई लगायतको सहभागिता रहेको थियो ।

पालिकामा भूमि व्यवस्थापन शाखा सञ्चालन गर्न भूमि प्रशासन कार्यालय दोलखाका एकलाल तामाङ र अर्जुन प्रसाद चौलागाईले शाखामा काम गर्ने कर्मचारीहरूलाई अनलाइन सेवा प्रवाह सम्बन्धमा प्रशिक्षण दिएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button