तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीमा आज फेरि डा. गोविन्द केसी र सरकारबीच वार्ता

धनगढी। धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारको वार्ता टोलीबीच आज पुनः वार्ता हुने भएको छ। आइतबार दिउँसोदेखि सुरु भएको वार्ता रातिसम्म चलेपछि थप छलफलका लागि आज बिहान पुनः बस्ने सहमति भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रशासनिक भवनमा भएको वार्तामा डा. केसीले अघि सारेका पाँचबुँदे मागबारे विस्तृत छलफल भएको बताइएको छ। दुवै पक्षले वार्ता सकारात्मक रहेको र सहमति नजिक पुगेको संकेत गरेका छन्।

सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल, सांसद पुकार बम, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा तथा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल सहभागी थिए। डा. केसीको तर्फबाट डा. अमृत जैशी र पवन थापाले वार्तामा प्रतिनिधित्व गरेका थिए।

साउन ७ गतेदेखि धनगढीस्थित श्रीकृष्ण मन्दिर धर्मशालामा अनशन सुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर बनेपछि शनिबार उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा सारिएको थियो।

डा. केसीले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्ति खारेजसहित पाँचबुँदे माग पूरा गर्न सरकारसँग आग्रह गर्दै अनशन जारी राखेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button