तपाईँ सुन्दै हुनुहुन्छः

‘राहदानी वितरणमा देखिएको समस्या छिट्टै समाधान हुन्छ’

काठमाडौँ । परराष्ट्र मन्त्रालयले राहदानी वितरणमा देखिएको समस्या छिट्टै समाधान हुने जनाएको छ । 

मन्त्रालयले आज सिंहदरबारमा गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ प्रविधि प्रयोग ल्याउँदा केही प्राविधिक समस्या देखिएको भएपनि छिट्टै समाधान हुन बताउनुभयो । 

गएको असार २९ गतेदेखि राहदानी जारी गर्न नयाँ प्रणाली सुरु भएपछि प्राविधिक समस्याका कारण राहदानी वितरण सुस्त हुन पुगेको र राहदानी विभागमा सेवाग्राहीको भिड लाग्ने समस्या देखिएको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।  

प्रवक्ता क्षेत्रीले नयाँ प्रणाली मार्फत हाल सम्म ८ हजार २ सय ६० थान राहदानी छापिएको र अहिले दैनिक एक हजार तीन सयको हाराहारी राहदानी छपाई भइरहेकाले यो समस्या लामो समय नरहने पनि बताउनुभयो । 

यस्तै पत्रकार सम्मेलनमा प्रवक्ता क्षेत्रीले दक्षिणपूर्वी एसियाली राष्ट्र कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डका सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन क्यामिङ सेन्टरमा ठगिन पुगेका ८ सय ६० नेपालीको सरकारले उद्धार गरेको जानकारी दिनुभयो । 

सरकारले ७ सय ३३ जना कम्बोडियाबाट, १ सय १३ जना म्यानमारबाट, ८ जना लाओसबाट र ६ जना थाइल्यान्डबाट उद्धार गरेको छ । 

यस्तै विभिन्न कसुरमा हाल कम्बोडियाको जेलमा रहेका ४९ जना नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button