बाजुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–५ स्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका अन्य सात जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कोल्टी आधारभूत अस्पतालमा उपचाररत हिमाली गाउँपालिका–२ निवासी ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ निवासी करिब ४० वर्षीय अम्मर सिंह बुढाको उपचारकै क्रममा मृत्यु भएको हो।

प्रहरी कार्यालय बाजुराकी प्रमुख शैलेश्वरी बोहराका अनुसार धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८७८ नम्बरको जिप सोमबार दिउँसो करिब १ः२५ बजे हिमाली गाउँपालिका–५ अन्तर्गत कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डको माथिल्लो मोडमा अनियन्त्रित भएको थियो।
जिप करिब १० मिटर तल रहेको अर्को मोडमा खस्दा दुर्घटना भएको थियो। दुर्घटनामा नौ जना घाइते भएका थिए। घाइते मध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

घाइतेहरूको अवस्था र थप उपचार व्यवस्थापनबारे सम्बन्धित स्वास्थ्य संस्थाले निगरानी गरिरहेको जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।









प्रतिक्रिया राख्नुहोस्