तपाईँ सुन्दै हुनुहुन्छः

निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिलाहरू अन्ततः सम्पर्कमा

महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिला अन्ततः सम्पर्कमा आउनुभएको छ ।  

भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरू सेनाको खोजीपछि सम्पर्कमा आउनुभएको हो । उहाँहरू गत आइतबारदेखि सम्पर्क बाहिर हुनुहुन्थ्यो । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका  रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका  महिलाहरू  परिवारको सम्पर्कमा आइसकेको जानकारी दिनुभयो ।

“सबै संयन्त्र परिचालन गरेर निकुञ्जभित्र खोजीकार्य व्यापक पारिएको थियो”, उहाँले भन्नुभयो, “केहीबेर अघि परिवारको सम्पर्कमा आएको र सबै सुरक्षित रहेको खबर प्राप्त भयो ।”

त्यसैगरी, आइतबार साँझदेखि नै निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई भने गणका सहसेनानी सुमन जिसी नेतृत्वको टिमले उद्धार गरेको थियो । 

उहाँहरूलाई सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मामा सुम्पिएको छ । निकुञ्जमा अवैध च्याउ टिप्न गएका तीन वटा महिला समूह सम्पर्कविहीन हुँदा सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासन खोजी कार्यमा जुटेका थिए । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button