तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा बाढीको जोखिम बढ्दै, नदी तटीय बासिन्दालाई सावधानी अपनाउन आग्रह

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले दुई दिन जिल्लामा भारीदेखि अति भारी वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मनसुन अत्यधिक सक्रिय रहने मौसम पूर्वानुमानपछि प्रशासनले आइतबार अत्यावश्यक सूचना जारी गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार रौतहटसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना छ । त्यसलाई ध्यानमा राख्दै लालबकैया, बागमती, झाँझ खोला लगायत नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा बसाइँ सर्न तथा नदी–खोला आसपास अनावश्यक रुपमा नजान प्रशासनले आग्रह गरेको छ ।

प्रशासनले बाढीको जोखिमलाई दृष्टिगत गर्दै बालबालिकालाई नदी तथा खोलातर्फ जान नदिन अभिभावकलाई अनुरोध गरेको छ । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, लामो दूरीको यात्रा नगर्न तथा सम्भावित विपद् व्यवस्थापनका लागि स्थानीय तहलाई जेसीभी, दमकल, एम्बुलेन्स, उद्धार सामग्री तथा खाद्य एवं गैरखाद्य राहत सामग्री तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।

कुनै विपद् वा आपत्कालीन अवस्था सिर्जना भएमा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) को हटलाइन ११४४, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी १११४ तथा सम्बन्धित निकायसँग तत्काल सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ । 

यता, रौतहट भएर बग्ने बागमती र लालबकैया (बकैया) नदीका जीर्ण बाँधका कारण तटीय क्षेत्रका बासिन्दामा बाढीको त्रास बढेको छ। वर्षेनि बाँध फुटेर आएको बाढीले गौर सदरमुकामसहित दर्जनौँ बस्ती डुबानमा पर्दै आएका छन् भने करोडौँ रुपैयाँ बराबरको धनजन तथा बालीनालीमा क्षति पुग्ने गरेको छ ।

केही दिनअघि परेको वर्षापछि बकैया नदीको बाँध फुटेर राजपुर नगरपालिका–४ मा बाढी पस्दा जनजीवन प्रभावित भएको थियो । कटहरियाका स्थानीय राजु श्रीवास्तवका अनुसार बकैया नदीको बाँध फुटे कटहरिया, देवाही गोनाही, मौलापुर, ईशनाथ, राजपुर र गौर नगरपालिकाका बासिन्दा प्रत्यक्ष प्रभावित हुने अवस्था छ । बाँध नजिक बसोबास गर्ने नागरिक सबैभन्दा बढी जोखिममा पर्ने उहाँको भनाइ छ ।

उता, बागमती नदीको कमजोर बाँधका कारण दुर्गाभगवती गाउँपालिका, गढीमाई, माधवनारायण, राजदेवी र गौर नगरपालिकाका तटीय बस्ती वर्षेनि डुबानमा पर्दै आएका छन् । दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले गत वर्षको बाढीले करोडौँ मूल्य बराबरको धानबाली नष्ट गरेको उल्लेख गर्दै बाँध सुदृढीकरणमा ढिलाइ हुँदा स्थानीयले निरन्तर सास्ती भोग्नुपरेको बताउनुभयो ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालसहित सुरक्षा निकायका प्रमुखहरूको टोलीले गत बिहीबार बागमती र लालबकैया नदीको जलस्तर बढ्न थालेपछि सम्भावित जोखिम क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । टोलीले नदी नियन्त्रण बाँध तथा निर्माणाधीन संरचनाको अवस्था अवलोकन गरी क्षतिग्रस्त भागको तत्काल मर्मत तथा संरक्षणका काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

निरीक्षणका क्रममा राजदेवी नगरपालिका–३ स्थित बागमती नदीको बाँधमा वर्षा र नदी कटानका कारण सामान्य क्षति पुगेको पाइएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिनुभयो । टोलीले परोहा नगरपालिका–३ तेजापाकडस्थित लालबकैया नदीमा निर्माणाधीन स्पर (कटान नियन्त्रण संरचना) को समेत निरीक्षण गरी निर्माण प्रगति, बाँधको अवस्था र सम्भावित जोखिमबारे प्राविधिकसँग छलफल गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी भुसालले वर्षायाममा बाढी तथा नदी कटानबाट हुने क्षति न्यूनीकरणका लागि संवेदनशील क्षेत्रको नियमित अनुगमन, आवश्यक मर्मत तथा पूर्वतयारीलाई तीव्र पारिएको बताउँदै नदी तटीय क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन र कुनै पनि विपद्सम्बन्धी सूचना तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

निरीक्षण टोलीमा नारायण दल गणका गणपति विश्वास विष्ट, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजाल, सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी तथा राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button