राप्रपा रचनात्मक प्रतिपक्षको भूमिकामा छः अध्यक्ष लिङ्देन
नेपालगञ्ज। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले रचनात्मक र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ ।

शुक्रबार नेपालगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष लिङ्देनले लोकप्रियताको आधारमा बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम गर्नुपर्ने भए पनि सरकारका प्रारम्भिक गतिविधि आशाजनक नदेखिएको टिप्पणी गर्नुभयो ।
उहाँले प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटमा स्वास्थ्य बीमा, रासायनिक मलको उपलब्धता, सुकुम्बासी समस्या, संविधान संशोधन लगायत विषयमा सरकारको धारणा माग्दै राप्रपाका तर्फबाट सुझाव समेत प्रस्तुत गरिएको जानकारी दिनुभयो । प्रधानमन्त्री शाहले ती विषयमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताएको लिङ्देनको भनाइ थियो ।
पत्रकार सम्मेलनमा पार्टीका महामन्त्री डा. धवल शमशेर राणाले पार्टी छोडेर सुरु गरेको राजसंस्था पुनःस्थापनाको अभियानबारे सोधिएको प्रश्नमा अध्यक्ष लिङ्देनले राप्रपाको धारणा स्पष्ट पार्नुभयो । उहाँले आन्दोलन वा विद्रोहको बाटो भन्दा राष्ट्रिय सहमतिमार्फत राजसंस्था पुनःस्थापना हुनुपर्ने पार्टीको अडान रहेको बताउनुभयो ।
“उहाँहरू आन्दोलन र विद्रोहबाट राजसंस्था ल्याउन चाहनुहुन्छ, तर हामी राष्ट्रिय सहमतिका आधारमा राजसंस्था पुनःस्थापना हुनुपर्छ भन्ने पक्षमा छौँ,” अध्यक्ष लिङ्देनले भन्नुभयो, “राजा देशको अभिभावकीय भूमिकामा रहनुपर्छ भन्ने नै हाम्रो स्पष्ट धारणा हो।”








प्रतिक्रिया राख्नुहोस्