फागुन मसान्तभित्र खजुरा पुल निर्माण सम्पन्न हुने, थप ५ करोड बजेट विनियोजन
नवलपरासी। पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ र १६ जोड्ने बहु प्रतीक्षित खजुरा पुल ५ बर्ष बित्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन । २०७९ चैत्र १२ गते प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले शिलान्यास गरेको यो पुल अहिले सम्म पनि निर्माणाधीन अवस्थामै छ ।

२०७७ साल पुषमा निर्माण कम्पनी श्रीमृत सन्जिवनी सेवासँग ठेक्का सम्झौता भई २०७९ चैत्र बाट काम सुरु भएको पुलको निर्माण कार्य पुर्णरुपमा अघि बढ्न सकेको छैन । नौ करोड ७७ लाखको लागतमा निर्माण हुने भनिएको पुल बजेट अभावमा अलपत्र बनेको हो । ७५ मिटर लम्बाई र ११ मिटर चौडाई रहने पुलको निर्माण कार्य ३० महिना भित्र सक्नु पर्ने थियो ।
पुलको अहिले पिल्लर निर्माण भएको छ भने एउटा स्ल्याब ढलान भएको छ ।बजेट अभाव र विभिन्न कारण पटक पटक म्याद थप्दै आइएको पुल समयमै निर्माण सम्पन्न नहुँदा बर्षायाममा नागरिकले सास्ती खेप्दै आएका छन् भने विद्यार्थीहरू चुनौतीपूर्ण रुपमा खोला तर्न बाध्य छन् ।
काम अगाडी बढ्ने र रोकिने गरेकाले अझै पनि समयमै पुल निर्माण नहुनेहोकी भन्ने आशङ्का समेत उब्जिएको छ भने पुलका नाममा बिगत देखि नै जस लिने होडबाजी र राजनीतिकरण हुँदै आएको छ । यस विषयमा जानकारी लिँदा फागुन मसान्त सम्म पुल निर्माण सम्पन्न हुने पुल सेक्टर नेपालगन्जकि योजना प्रमुख सबिना रानाभाटले जानकारी दिनुभयो । ‘अहिले पुलका लागि थप ५ करोड रुपैयाँ बजेट बिनियोजन भएको छ,सायद दुई तीन करोड भन्दा बढी लाग्दैन होला,भदौ पछि काम सुरु गरेर फागुनमा सक्ने लक्ष्य हो’ रानाभाटले भन्नुभयो ।
विगतमा न्यून रकम बिनियोजन र ढिलासुस्ती भएकोमा अब भने पर्याप्त बजेट भएकाले तोकिएको समयमै निर्माण सम्पन्न गरिने उहाँको दाबी छ ।
पुल निर्माण नहुँदा ह्युम पाइप राखेर वैकल्पिक व्यवस्था गरिँदै आएपनी बर्षातको समयमा बाढीले बगाउने गर्दा सर्वसाधारणहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।








प्रतिक्रिया राख्नुहोस्