तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा उत्साहका साथ सम्पन्न भयो कोरा साइकलिङ च्यालेन्ज–२०२६

उदयपुर I उदयपुरमा कोरा साइकलिङ च्यालेन्ज–२०२६ उत्साह, जोश र सामाजिक सन्देशका साथ भव्य रूपमा सम्पन्न भएको छ। 

जिल्लाको सदरमुकाम गाईघाट तथा चौदण्डीगढी नगरपालिकाको बेल्टार क्षेत्रमा एकैसाथ आयोजित कार्यक्रमले साइकल संस्कृतिको प्रवर्द्धनसँगै वातावरण संरक्षण, स्वस्थ जीवनशैली र बालबालिकाको उज्ज्वल भविष्यप्रति जनचेतना फैलाउने सन्देश दिएको हो।

उदयपुर जिल्ला साइक्लिङ सङ्घको आयोजनामा गाईघाटमा तथा चौदण्डीगढी साइकल सिटीको आयोजनामा बेल्टार क्षेत्रमा कोरा साइकलिङ च्यालेन्ज सम्पन्न गरिएको हो। नेपालभर एकै दिन आयोजना गरिएको यस अभियानमा उदयपुरबाट पनि सयौँ साइकलप्रेमी, युवा, विद्यार्थी, खेलकुदकर्मी तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

चौदण्डीगढी नगरपालिकाको बेल्टारमा आयोजित कार्यक्रमको उद्घाटन नगर प्रमुख कालुमान लामा र चौदण्डीगढी साइकल सिटीका अध्यक्ष अनिल पौडेलले संयुक्त रूपमा गर्नु भएको थियो । उद्घाटनपछि सहभागीहरूलाई शुभकामना दिँदै नगर प्रमुख लामाले साइकल केवल खेलकुदको माध्यम मात्र नभई स्वस्थ जीवन, स्वच्छ वातावरण र दिगो विकासको अभियान भएको उल्लेख गर्नुभयो । यस्ता कार्यक्रमले युवापुस्तालाई स्वास्थ्यप्रति सचेत बनाउनुका साथै पर्यावरण संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो।

त्यसैगरी, चौदण्डीगढी साइकल सिटीका अध्यक्ष अनिल पौडेलले कोरा साइकलिङ च्यालेन्ज केवल एउटा साइकल यात्रा नभई सामाजिक उत्तरदायित्वसँग जोडिएको अभियान भएको बताउनु भयो । पौडेलले बालबालिकाको शिक्षा, स्वास्थ्य र उज्ज्वल भविष्यका लागि समाजलाई एकताबद्ध बनाउने उद्देश्यले हरेक वर्ष कोरा अभियान सञ्चालन हुँदै आएको उल्लेख गर्दै उदयपुरमा पनि यस अभियानप्रति नागरिकको उत्साहजनक साथ प्राप्त भएको बताउनु भयो ।

गाईघाटमा आयोजित साइकल यात्रा सदरमुकाम गाईघाटबाट सुरु भई असारी, बहेडवा, झोडा, जोगीदह, मोथियाई, भुल्के, मोतिगडा हुँदै पुनः गाईघाट पुगेर सम्पन्न भएको थियो। त्यसैगरी चौदण्डीगढी साइकल सिटीअन्तर्गतको यात्रा बेल्टार बजारबाट सुरु भई बिपी चोक, माडिवास, पैतालिस चोक, शनिवारे, कुवाखोज, शिवाई, हडिया, शिवनगर, खैराझोडा हुँदै पुनः बेल्टार बजारमा आएर समापन गरिएको थियो।

यस वर्षको कोरा साइकलिङ च्यालेन्ज “Pedal for a Child, Ride for the Future“ (बालबालिकाको भविष्यका लागि साइकल चलाऔँ) भन्ने नाराका साथ सञ्चालन गरिएको थियो। अभियानले बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र भविष्यप्रति समाजको दायित्वबोध गराउनुका साथै वातावरणमैत्री यातायातको प्रयोग बढाउन प्रेरित गर्ने उद्देश्य बोकेको आयोजकहरूले बताएका छन्।

सहभागीहरूले साइकल यात्रा केवल गन्तव्यसम्म पुग्ने साधन नभई स्वस्थ शरीर, स्वच्छ वातावरण र सामाजिक उत्तरदायित्वको प्रतीक भएको सन्देश दिएका थिए। उनीहरूले दैनिक जीवनमा साइकलको प्रयोग बढाउँदै कार्बन उत्सर्जन न्यूनीकरण गर्न, प्रदूषण नियन्त्रण गर्न र स्वस्थ समाज निर्माणमा सबैको सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

नेपालभर एकैसाथ आयोजना हुने कोरा साइकलिङ च्यालेन्जले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व, परोपकारी भावना र समुदायमा सकारात्मक परिवर्तनका लागि जनचेतना अभिवृद्धि गर्दै आएको छ। उदयपुरमा सम्पन्न यस वर्षको कार्यक्रम पनि उल्लेखनीय सहभागिता, व्यवस्थित सञ्चालन र उत्साहपूर्ण वातावरणका कारण सफल र स्मरणीय बनेको आयोजकले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button