झापामा आर्थिक गणना सम्पन्न: रोजगारको संख्या १ लाख ८९ हजार
झापा I झापामा आर्थिक गणना सकिएको छ ।
असार मसान्तसम्ममा ६०६५४ वटा आर्थिक प्रतिष्ठान (व्यवसाय, उद्योग, संघ–संस्था आदि)–को गणना भएको छ ।

झापा जिल्लाभरि ६०६५४ प्रतिष्ठान गणना हुँदा भद्रपुर आर्थिक गणना कार्यालयबाट ३३१०३ र दमक आर्थिक गणना कार्यालयबाट २७४४४ प्रतिष्ठानको विवरण सङ्कलन गरिएको थियो । यसबाहेक झापामा अनलाइनमार्फत १०७ प्रतिष्ठानले विवरण भरेका थिए ।
यी प्रतिष्ठानमा १ लाख ८९ हजार ७ जना व्यक्ति तलबी तथा स्वरोजगारमा रहेको पाइएको जिल्ला आर्थिक गणना कार्यालय भद्रपुरका निर्देशक एवम् आर्थिक गणना अधिकारी चूडामणि लुइँटेलले जानकारी दिनुभयो ।
विवरण अनुसार झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा सबैभन्दा बढी आर्थिक प्रतिष्ठान रहेका छन् भने सबैभन्दा कम झापा गाउँपालिकामा रहेका छन् ।
जिल्लाको आर्थिक गणनाको विवरणअनुसार बिर्तामोड नगरपालिकामा ११६७५, मेचीनगर नगरपालिकामा १०१३६, दमक नगरपालिकामा ८१७४, भद्रपुर नगरपालिकामा ४१८४, अर्जुनधारा नगरपालिकामा ३७८४, बुद्धशान्ति गाउँपालिकामा ३६३३, कनकाई नगरपालिकामा ३५६४, शिवसताक्षी नगरपालिकामा ३४५४, गौरादह नगरपालिकामा २५५९, कचनकवल गाउँपालिकामा १९३७, कमल गाउँपालिकामा १९३७, हल्दिबारी गाउँपालिका १५३८, बाह्रदशी गाउँपालिकामा १५६६, गौरीगञ्ज गाउँपालिकामा १३६२ र झापा गाउँपालिकामा १०४४ वटा प्रतिष्ठान छन् ।
आर्थिक क्रियाकलापका १७ वटा क्षेत्रभित्र पर्ने सानादेखि ठूला आर्थिक एकाइहरू गणनामा समावेश गरिएका थिए । दोस्रो राष्ट्रिय आर्थिक गणनाको स्थलगत गणना कार्य बैशाख २ गतेबाट सुरु भई असार मसान्तमा सम्पन्न भएको हो ।








प्रतिक्रिया राख्नुहोस्