सञ्चार गृह अगाडि शङ्कास्पद सवारी राखिएको घटनाका सम्बन्धमा छानबिन गर्न माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले राज्य शक्तिको आडमा केही सञ्चार गृह र नेपाली कांग्रेसका सभापति गगन थापाको घरको गेटमा गाडी राख्नेमाथि छानविन गरी कडा कारबाही गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसककी सांसद कमला पन्तले वर्षा लागेसँगै बाढी, पहिरो र डुबानको उच्च जोखिम बढ्दै गएका बेला विपद् व्यवस्थापन गर्ने संस्थामा नयाँ नेतृत्व दिन नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो ।
सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरूले तिर्नुपर्ने सेवा शुल्क बढाउन खोजेको भन्दै सांसद पन्तले सबैतिर आतङ्क सिर्जना गर्नुभन्दा परिणाममुखी काम गर्न सरकारलाई सुझाब दिनुभयो ।
बैठकको विशेष समयमा नेपाली कम्युनिष्ट पार्टीका सांसद झक्कुप्रसाद सुवेदीले सञ्चार माध्यम अगाडि शङ्कास्पद रुपमा सवारी साधन तेर्स्याएर सरकारले प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न खोजेको आरोप लगाउनुभयो ।
त्यसैगरी नेकपा एमालेकी सांसद रोशनी मेचेले रास्वपाले निर्वाचनताका वैदेशिक रोजगारीमा गएकाहरूलाई स्वदेश फर्काउने आश्वासन दिएको स्मरण गराउँदै गणेश नेपाली आत्मदाह प्रकरणले युवाहरूमा चरम निराशा छाएको बताउनुभयो ।
सरकारले स्वास्थ्य वीमा कार्यक्रम बन्द गर्दा गरिबीको रेखामुखी रहेका नागरिकहरूले उपचार नपाएर मर्नुपर्ने अवस्था आएको भन्दै सांसद मेचेले यो सरकारले बन्द गरेको स्वास्थ्य विमा कार्यक्रम तत्काल सुरु गरी सर्वसाधारणलाई उपचारमा पहुँच पुर्याउन आग्रह गर्नुभयो ।
जनता समाजवादी पार्टीका सांसद महन्त ठाकुरले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले दिएको आश्वासन पूरा नभएको, निराशा पैदा भएर युवाहरू आत्महत्या रोज्न बाध्य हुनुपरेको बताउनुभयो ।
बैठकमा सांसदहरु विष्णुकुमारी पुडासैनी, सम्झना देवकोटा, जयन्तीदेवी राई र वासुदेव घिमिरेले श्रमिक, मजदुर किसान र बेरोजगार युवाहरूमा दिनप्रतिदिन निराशा बढेको भन्दै सांसदहरुले अत्याधिक मूल्य वृद्धि तत्काल समायोजन गर्न सरकारले तत्परता देखाउनुपर्नेमा जोड दिनुभयो ।
यसअघि, बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनुभयो ।
त्यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्नुभयो ।
राष्ट्रियसभाको अर्को बैठक २०८३ साल साउन १५ गते शुक्रबार अपराह्न १ः१५बजे बस्नेछ ।






प्रतिक्रिया राख्नुहोस्