तपाईँ सुन्दै हुनुहुन्छः

कर्रा खोलाको बाढीले ट्रक बगायो, चालक पौडिएर जोगिए

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७, हटिया स्थित शिवम् फ्याक्ट्री नजिकको कर्रा खोलामा सोमबार बिहान आएको बाढीले एउटा खाली ट्रक बगाएको छ।

 बिहान करिब ७:४५ बजे सिमेन्ट फ्याक्ट्रीबाट ढुङ्गा अनलोड गरी फर्कँदै गरेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक कल्भर्टमाथि पानीको बहाव बढेपछि बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रहरीका अनुसार ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ निवासी ३४ वर्षीय दीपक थिङ पौडी खेलेर सुरक्षित रूपमा बाहिर निस्किएका छन्। उहाँको खुट्टामा सामान्य चोट लागेको र चौघडा स्थित राजु मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा तत्कालै प्रहरी टोली परिचालन गरिएको थियो। बाढीमा परेर अन्य कुनै मानवीय क्षति नभएको र हाल बगेको ट्रक खोलामै रहेको जनाइएको छ।

 वर्षा जारी रहेकाले खोलामा पानीको सतह उच्च छ, जसका कारण क्रेन वा अन्य प्राविधिक माध्यमबाट ट्रकलाई बाहिर निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button