कृषि अनुदानलाई पारदर्शी बनाउन मन्त्रालयले पहल गरिरहेको मन्त्री चौधरीको भनाई

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी आर्थिक वर्षको बजेट रासायनिक मलको आपूर्ति, कृषि बिमा, उखु कृषकलाई दिइने अनुदान प्राङ्गारिक मल उत्पादन लगायतलाई प्रोत्साहन गर्ने गरी विभाजन गरिएको बताउनुभयो ।
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफमा मन्त्री चौधरीले रासायनिक मलको विकल्पमा लागि मन्त्रालयले आवश्यक योजना र कार्यक्रम अगाडी बढाएको बताउनुभयो ।
उहाँले रासायनिक मल खरिदमा ठूलो रकम खर्च हुँदै आएको र प्रत्येक वर्ष रकम बढ्दै गएकोले यसको विकल्पका लागि गम्भीर नबन्दासम्म कृषि क्षेत्रमा दिगोपना ल्याउन नसकिने बताउनुभयो ।
मन्त्री चौधरीले कृषि तथा पशुजन्य उत्पादनका लागि न्यूनतम २ करोड रुपैयाँसम्म प्रारम्भिक पुजी लगानी गर्ने कृषकलाई सरकारले ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान प्रदान गर्ने गरी पाइलट कार्यक्रमका रुपमा अगाडी बढाएको जानकारी गराउनुभयो ।
उहाँले साना, मझौला र ठूला किसानलाई कृषि सुविधा तथा सहुलियत उपलब्ध गराउन विगतदेखिका कार्यक्रमलाई निरन्तरता दिँदै आवश्यक बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो ।
मन्त्री चौधरीले कृषि अनुदानलाई पारदर्शी र प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक पहल गरिरहेको पनि बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्