तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकार स्पष्ट मार्गचित्र सहित अघि बढेको छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र रहेको बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयका तर्फबाट संसद्मा जवाफ प्रस्तुत गर्दै मन्त्री वाग्लेले सरकारको नीति, बजेट र कार्यक्रमहरू मुलुकको दीर्घकालीन विकास र सुशासनमा केन्द्रित रहेको स्पष्ट पार्नुभएको हो । 

सरकारको १०० दिने कार्यसम्पादनका विषयमा जानकारी दिँदै अर्थमन्त्री डा. वाग्लेले शासकीय सुधारका लागि घोषित १०० कार्यसूचीमध्ये ८७.२ प्रतिशत प्रगति हासिल भएको दाबी गर्नुभयो 

उहाँले सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि र तनाव व्यवस्थापनका लागि योग, ध्यान तथा आरोग्यका कार्यक्रमहरूलाई निरन्तरता दिइएको बताउनुभयो ।

रक्षा मन्त्रालय र नेपाली सेनाको जिम्मेवारीका सम्बन्धमा उहाँले सेनाको परिचालन संविधान र कानुनको परिधिभित्रै हुने स्पष्ट पार्नुभयो ।

मन्त्री वाग्लेले सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यबिच अभूतपूर्व सङ्गति रहेको दाबी गर्दै सुशासन, मध्यम वर्गको विस्तार, रोजगारी सिर्जना, कनेक्टिभिटी र प्रवासका मुद्दाहरूलाई सरकारले मुख्य आधार बनाएको बताउनुभयो ।

अर्थ खनालले आगामी सात वर्षभित्र १०० खर्बको अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ निजी क्षेत्रसँगको सहकार्यमा अगाडि बढ्ने मार्गचित्र सरकारसँग रहेको पनि  उल्लेख गर्नुभयो ।

करका दरहरूमा गरिएको हेरफेरबारे स्पष्ट पार्दै मन्त्री वाग्लेले औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी वस्तुको भन्दा कम हुने गरी २ सय ७३ वस्तुमा दर घटाइएको जानकारी दिनुभयो ।

विद्यमान ११ तहको भन्सार दरलाई ७ तहमा झारिएको र आन्तरिक उत्पादनलाई प्रश्रय दिने नीति लिइएको भन्दै डिजिटल भुक्तानीमा उपभोक्तालाई १० प्रतिशत भ्याट फिर्ता दिने जस्ता प्रोत्साहनमूलक कार्यक्रमले अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button