मूल्य वृद्धि र कृत्रिम अभाव रोक्न नियमित बजार अनुगमन भइरहेको छ: मन्त्री गौरी कुमारी
काठमाडौँ । उद्योग वाणिज्य, तथा आपूर्तिमन्त्री गौरी कुमारीले बजार मूल्य पारदर्शीता कायम राख्न, अस्वभाविक मूल्य वृद्धि नियन्त्रण गर्न र कृत्रिम अभाव सिर्जना हुन नदिन नियमित रुपमा बजार अनुगमन भइरहेको बताउनुभएको छ।

राष्ट्रिय सभाको आजको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा मन्त्री गौरी कुमारीले अस्वभाविक रुपमा देखिएको मूल्य वृद्धि नियन्त्रण गरी उपभोक्ता हित संरक्षणका लागि आयातकर्ता, उत्पादक एवं बिक्रीकर्ताको प्रत्येक दिन नियमित स्थलगत अनुगमन गरी कैफियत देखिए जरिवाना समेत गर्ने गरिएको बताउनुभयो ।
सांसदहरुले सोधेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री गौरी कुमारीले तरकारी देखी फलफूलको मूल्य किसानदेखि उपभोक्तासम्म आइपुग्दा अस्वभाविक उतार चढाव हुनुमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, तरकारी उत्पादनको अवस्थाका साथै विचौलियाको समेत प्रभाव देखिएको बताउनुभयो ।
उहाँले नेपाल आय निगमले नियमित स्वचालित माध्यमबाट पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने गरेको भन्दै पछिल्लो समय मध्यपूर्वमा भएको असहज परिस्थितिका बाबजुद पेट्रोलियम पदार्थको आपूर्तिमा सहजीकरण गरिरहेको बताउनुभयो ।
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य उल्लेखनीय रुपमा घटाएको र भाडादरमा समेत मूल्य समायोजन भइसकेको मन्त्री गौरी कुमारीले सभामा जानकारी गराउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्