दाङमा १३ फिट लामो अजिङ्गरको उद्धार, बाख्रा मारेर बेरेको अवस्थामा फेला
दाङ। दाङको देउखुरीमा १३ फिट लामो र ३० किलोभन्दा बढी तौलको अजिङ्गरको सकुशल उद्धार गरिएको छ।
सोमबार दिउँसो गढवा गाउँपालिका–७ शान्तिपुरस्थित चन्दनपुर सामुदायिक वन क्षेत्रमा चरिरहेको बाख्रालाई अजिङ्गरले एक्कासी बेरेपछि स्थानीयले डिभिजन वन कार्यालय देउखुरीमा खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ पत्रकार तथा वन्यजन्तु उद्धारकर्ता शिवु खनालको नेतृत्वमा डिभिजन वन कार्यालयको टोली घटनास्थल पुगेको थियो। टोलीले स्थानीयको सहयोगमा अजिङ्गरलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर उद्धार गरेको हो।
उद्धारपछि अजिङ्गरलाई डिभिजन वन कार्यालय देउखुरीमा ल्याइएको छ। आवश्यक प्रक्रिया पूरा गरी त्यसलाई पुनः प्राकृतिक वासस्थानमै छाडिने कार्यालयले जनाएको छ।
घटनामा गढवा गाउँपालिका–७ शान्तिपुर निवासी सरिता बुढाथोकीको बाख्रा मरेको छ। केही समय स्थानीयमा त्रासको अवस्था सिर्जना भए पनि उद्धार टोली समयमै पुगेकाले थप क्षति हुन पाएन।
उद्धारकर्ता शिवु खनालले वन्यजन्तु देखिएमा आत्तिने वा मार्ने प्रयास नगरी सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन आग्रह गरेका छन्। उनका अनुसार अजिङ्गर विषालु नभए पनि अत्यन्त बलियो हुने भएकाले आफैं नियन्त्रणमा लिन खोज्नु जोखिमपूर्ण हुन सक्छ।
डिभिजन वन कार्यालय देउखुरीका अनुसार अजिङ्गर नेपालमा संरक्षित वन्यजन्तुको सूचीमा पर्ने प्रजाति हो। त्यसैले यसको संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि जनचेतना आवश्यक रहेको कार्यालयको भनाइ छ।
डिभिजनल वन अधिकृत गणेश खड्काका अनुसार देउखुरी क्षेत्रमा हालसम्म एक दर्जनभन्दा बढी अजिङ्गरको उद्धार गरी सुरक्षित प्राकृतिक वासस्थानमा छाडिएको छ। चालु आर्थिक वर्षको साउनयता मात्रै चार वटा अजिङ्गरको सफल उद्धार गरिएको उनले जानकारी दिए।
देउखुरीका सिमसार, नदी, खोला, तालतलैया, उखुखेती तथा पर्याप्त आहाराका कारण यो क्षेत्र अजिङ्गरका लागि उपयुक्त वासस्थान बनेको छ। पछिल्ला वर्षहरूमा लमही, गढवा, राजपुर र राप्ती क्षेत्रबाट पनि अजिङ्गर उद्धारका घटना बढ्दै गएका छन्। वन कार्यालयले वन्यजन्तु देखिएमा सुरक्षित दूरी कायम राख्न, हतारमा कुनै कदम नचाल्न र तत्काल वन कार्यालय वा उद्धारकर्तालाई खबर गर्न स्थानीयसँग आग्रह गरेको छ।








प्रतिक्रिया राख्नुहोस्