‘एआई फर गुड ग्लोबल समिट’मा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चार मन्त्रीसँग भेट
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटीयु)ले यही जुलाई ७ देखि १० सम्म स्वीट्जरल्यान्डमा आयोजना गर्न लागेको ‘एआई फर गुड ग्लोबल समिट, २०२६’ मा भाग लिने नेपाली विद्यार्थीहरूको एक प्रतिनिधिमण्डलले आज सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग भेटघाट तथा अन्तर्क्रिया गरेको छ ।

‘रोबोटिक्स फर गुड युथ च्यालेन्ज, २०२६’ मा सहभागी हुन लागेको नेपाली विद्यार्थी टोलीले आज मन्त्रालय पुगेर सञ्चारमन्त्री तिमिल्सिनासँग भेट गरी प्रतियोगिता, तयारी तथा आगामी योजनाबारे जानकारी गराएको हो । भेटका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले प्रतिस्पर्धामा जित वा हारभन्दा पनि त्यसबाट सिकाइ, नवप्रवर्तन र भविष्यमा सृजना गर्न सकिने अवसर बढी महत्त्वपूर्ण हुने धारणा राख्नुभयो ।
नेपालजस्तो मुलुकका लागि नवप्रवर्तन, रोबोटिक्स र कृत्रिम बौद्धिकता -एआई_को विकास अपरिहार्य बन्दै गएको उल्लेख गर्दै उहाँले युवा प्रतिभाहरूले यस्ता अन्तर्राष्ट्रिय मञ्चमा नेपालको क्षमता प्रदर्शन गर्नु गौरवको विषय भएको बताउनुभयो । सूचना प्रविधि, नवप्रवर्तन र नयाँ सोचलाई प्रवर्द्धन गर्न सरकार सकारात्मक रहेको उल्लेख गर्दै उहाँले सहभागी टोलीलाई सफलताको शुभकामना दिनुभयो ।
यस वर्षको ‘रोबोटिक्स फर गुड युथ च्यालेन्ज, २०२६’ को विषय ‘कृषि तथा खाद्य सुरक्षा’ रहेको छ । प्रतियोगितामा विश्वभरका ५० भन्दा बढी राष्ट्रका युवा टोलीहरू सहभागी हुनेछन् भने नेपालबाट विश्व छनोट पार गर्दै दुई टोलीले प्रतिनिधित्व गर्नेछन् । राष्ट्रिय आयोजक रोबोटिक्स एसोसिएसन नेपालका अनुसार जुनियर र सिनियर गरी दुई टोली जेनेभा जाँदै छन् । दुवै टोलीमा चार–चार जना विद्यार्थीसहित नेपालबाट कुल ११ सदस्यीय प्रतिनिधिमण्डल प्रतियोगितामा सहभागी हुनेछ ।
रोबोटिक्स एसोसिएसन नेपालका महासचिव तथा एआई फर गुडका निर्देशक ओमकार जैसवालले नेपालमा विगत केही वर्षदेखि ‘एआई फर गुड’ अन्तर्गत देशभित्र विभिन्न चरणका प्रतियोगिता सञ्चालन गर्दै उत्कृष्ट विद्यार्थी छनोट गरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लगिएको बताउनुभयो । विश्व छनोटका लागि नेपालभरबाट राष्ट्रियस्तरको प्रतिस्पर्धा गराइएको थियो । सिनियरतर्फको प्रतियोगिता गत वैशाख १४ गते काठमाडौँमा आयोजना गरिएको थियो । जहाँ आठ समूहका ४० जना प्रतिस्पर्धी सहभागी भएका थिए । त्यसैगरी जुनियर प्रतियोगिता जेठ २ गते सम्पन्न भएको थियो, जसमा १३ वटा शैक्षिक संस्थाका १६ टोली सहभागी भएका थिए ।
जैसवालका अनुसार नेपालले गत वर्ष पनि यही प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेको थियो । गत वर्ष नेपालबाट दुई टोलीसहित १२ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो । त्यसक्रममा जुनियर टोलीले विश्व स्तरमा दोस्रो र्याङ्क प्राप्त गरेको थियो भने सिनियर टोली तेस्रो र्याङ्क रहन सफल भएको थियो ।
यस वर्षको प्रतियोगितामा सहभागी हुने नेपाली टोलीले कृषि तथा खाद्य सुरक्षासँग सम्बन्धित रोबोटिक्स समाधान प्रस्तुत गर्नेछ । नेपाल कृषिप्रधान मुलुक भएकाले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाउन सकिने सम्भावनालाई ध्यानमा राख्दै टोलीले तयार गरेको प्रोटोटाइपलाई भविष्यमा व्यवसायीकरण गर्ने लक्ष्य राखिएको छ । आयोजकका अनुसार उक्त अवधारणाप्रति संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले समेत चासो देखाएको छ ।
भेटका क्रममा एआई फर गुडका निर्देशक ओमकार जैसवालले नेपालमा रोबोटिक्स र एआईप्रति विद्यार्थीहरूको आकर्षण बढ्दै गएको भए पनि सरकारी सहयोग अझै पर्याप्त नभएको उल्लेख गर्नुभयो । उहाँका अनुसार हालसम्म प्रतियोगितामा सहभागी हुने अधिकांश खर्च रोबोटिक्स एसोसिएसन नेपाल, विद्यार्थीका अभिभावक तथा निजी क्षेत्रका संस्थाहरूले व्यवस्थापन गर्दै आएका छन् ।
आगामी वर्षदेखि सरकारी विद्यालयका विद्यार्थीहरूलाई समेत प्रतियोगितामा सहभागी गराउने गरी योजना बनाइरहेको पनि जैसवालले जानकारी दिनुभयो । अहिले प्रतिभाशाली विद्यार्थीहरू केन्द्रित प्रतिस्पर्धा भइरहे पनि भविष्यमा अवसरको दायरा विस्तार गरेर सरकारी विद्यालयका विद्यार्थी तथा ग्रामीण क्षेत्रका युवालाई समेत समेट्ने लक्ष्य रहेको उहाँको भनाइ थियो । त्यसका लागि देशका विभिन्न प्रदेशमा क्षेत्रीय प्रतियोगिता आयोजना गरिँदै आएको उल्लेख गर्दै उहाँले चितवन, कोशी, विराटनगर र धनगढीलगायतका स्थानमा ‘एआई फर नेसन’ कार्यक्रमअन्तर्गत प्रतिस्पर्धा सञ्चालन गरिएको जानकारी दिनुभयो । रासस






प्रतिक्रिया राख्नुहोस्