बैतडीका तीन किसान ‘भीमदत्त उत्कृष्ट पुरस्कार’बाट सम्मानित
बैतडी। बैतडीका तीन जना किसान यस वर्षको ‘भीमदत्त उत्कृष्ट पुरस्कार’ बाट सम्मानित भएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि ज्ञान केन्द्र बैतडीले दशरथचन्द नगरपालिका–५ का वासुदेव भट्ट, दशरथचन्द नगरपालिका–२ का अजवबहादुर बोहरा र सुर्नया गाउँपालिका–६ का रामदत्त अवस्थीलाई उक्त पुरस्कार प्रदान गरेको हो।
‘भीमदत्त उत्कृष्ट पुरस्कार’ कृषि क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यावसायिक किसानलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले प्रदेश सरकारले स्थापना गरेको पुरस्कार हो।
उत्पादन, व्यावसायिकता, नवप्रवर्तन तथा कृषि क्षेत्रमा पुर्याएको योगदानका आधारमा उत्कृष्ट किसान छनोट गरी सम्मान गर्ने गरिएको छ ।
बिहीबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले तीनै जना किसानलाई सम्मानपत्रसहित जनही २५ हजार रुपैयाँ नगद प्रदान गरे।
कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीका अनुसार पुरस्कृतमध्ये वासुदेव भट्ट व्यावसायिक मौरीपालन व्यवसायी हुन् भने अजवबहादुर बोहरा र रामदत्त अवस्थी व्यावसायिक तरकारी खेतीमा संलग्न किसान हुन्।
पुरस्कार ग्रहणपछि वासुदेव भट्टले कृषि पेसाप्रति गरिएको सम्मानले थप हौसला मिलेको बताउँदै आगामी दिनमा अझ मेहनतका साथ कृषि उत्पादनमा लागिरहने प्रतिबद्धता व्यक्त गरे।






प्रतिक्रिया राख्नुहोस्