राष्ट्रियसभामा नौ मन्त्रालयको बजेटमाथि छलफल सम्पन्न

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०८३ अन्तर्गत नौ वटा मन्त्रालयगत विनियोजन शीर्षकहरूमाथि समूहकृत रुपमा छलफल सकिएको छ ।
मन्त्रालयगत विनियोजन शीर्षकहरूमाथि छलफलमा सहभागी सांसदहरुले रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, आद्यौगिक पुनरुत्थान, कृषि उत्पादन वृद्धि, प्रतिभा पलायन रोक्ने, दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउनेलगायत जनअपेक्षा पूरा गर्नेतर्फ बजेट केन्द्रित हुनुपर्ने बताउनुभयो ।
यस्तै छलफलमा सांसदहरुले पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण, लागुऔषध प्रयोग निरुत्साहन, शारीरिक तथा मानसिक स्वास्थ्य, ज्येष्ठ नागरिक सुरक्षा जस्ता कार्यक्रमलाई स्पष्ट रुपमा प्राथमिकीकरण गर्नुपर्ने सुझाव राख्नुभयो ।
सांसदहरुले भूमिहीन सुकुम्वासीहरूको व्यवस्थापनका लागि बजेट पर्याप्त नछुटाइएको भन्दै सांसदहरुले वास्तविक सुकुम्वासीको संख्या एकीन गरी उचित व्यवस्थापन गर्न सरकार चुकेको बताउनुभयो ।
सांसदहरुले नीति विपरीत जनताको स्थायी आवासको व्यवस्थापन नगरी हटाइएका उपत्यकाका सुकुम्वासीको व्यवस्थापनका लागि बजेटले स्पष्ट नबोलेको पनि बताउनुभयो ।
यस्तै शिक्षा क्षेत्रलाई आर्थिक विकाससँग जोड्न व्यवसायीक, उत्पादनमुखी रोजगारमुखी शिक्षा नीति आवश्यक रहेको भन्दै आवश्यक शिक्षक दरबन्दी सृजना गर्नुपर्नेमा सांसदहरुले जोड दिनुभयो ।
सभाको आजको बैठकमा युवा, श्रम तथा रोजगार, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन, महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा, विज्ञान, प्रविधि तथा नवप्रवर्तन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल भएको थियो ।
यसअघि राष्टियसभाको आजको बैठकमा सांसदहरुले पेट्रोलियम पदार्थको कृत्रिम अभावको नियमन, मनसुन अवधि सुरु भएकाले बाढी पहिरोको जोखिममा रहेका र विस्थापित भएका जनताको स्थायी व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
बैठकमा सांसदहरुले सुस्ता बचाउ अभियान लिएर काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत सुस्तावासीको उचित मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने,सीमा सम्बन्धी उठेका विषयको सम्बोधन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
राष्ट्रियसभाको अर्को बैठक भोली असार १९ गते शुक्रबार अपराह्न १ः१५ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्