‘क्यान्भसमा मेलुङ प्रदर्शनी–२०८३’ सम्पन्न
काठमाडौँ।काठमाडौँको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा सोमबारदेखि सुरु भएको ‘क्यान्भसमा मेलुङ प्रदर्शनी–२०८३’ सम्पन्न भएको छ।
मेलुङ गाउँपालिका, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र चरिकोट मिडिया फाउन्डेसनको संयुक्त आयोजनामा भएको प्रदर्शनीमा दोलखाको मेलुङ गाउँपालिकाका धार्मिक तथा सांस्कृतिक सम्पदा, जीवनशैली, कृषि, वन, वातावरण र पर्यटनसम्बन्धी विषयमा कलाकारहरूले तयार पारेका चित्र तथा फोटो प्रदर्शन गरिएको थियो।
प्रदर्शनीमा कलाकारहरूले मेलुङ गाउँपालिकाको स्थलगत भ्रमणपछि तयार गरेका क्यान्भास चित्र तथा फोटो पत्रकार जीवन लामाले खिचेका मेलुङसम्बन्धी तस्बिर राखिएका थिए।
कलाकार विक्रम तामाङको संयोजनमा कलाकारहरूले केही समयअघि मेलुङ गाउँपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल, स्थानीय जीवनशैली, वातावरण र कृषि क्षेत्रको अध्ययन–अवलोकन गरेका थिए। त्यसपछि दोलखा सदरमुकाम चरिकोटमा बसेर तयार गरिएका चित्रहरू काठमाडौँमा प्रदर्शन गरिएको संयोजक तामाङले जानकारी दिनुभयो।
उहाँका अनुसार प्रदर्शनी अवलोकन गर्न काठमाडौँ, दोलखा लगायत विभिन्न जिल्लाबाट सयौँ दर्शक पुगेका थिए।
मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकरले प्रदर्शनीले गाउँपालिकाको सांस्कृतिक तथा धार्मिक सम्पदा, पर्यटकीय सम्भावना, जीवनशैली, वातावरण र कृषि उत्पादनबारे जानकारी गराउन सहयोग पुगेको बताउनुभयो। यस्ता कार्यक्रमले मेलुङको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।







प्रतिक्रिया राख्नुहोस्