तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चितताको घोषणा गरिँदै

विराटनगर । कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चितताको भएको घोषणा गरिने भएको छ । आगामी असार ३० गते भित्रमा सुनिश्चितताको घोषणा गर्न लागिएको हो । 

राष्ट्रिय खोप कार्यक्रमको समीक्षा एवं प्रदेश पूर्णखोप खोप सुनिश्चितता घोषणाबारे खोप समन्वय समितिको आज विराटनगरमा बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले १४ वटै जिल्लाले पूर्णखोप खोप सुनिश्चितता घोषणा गरिसकेकाले अब प्रदेश घोषणा बाँकी रहेको बताउनुभयो । 

गत चैत ३ देखि असार १६ गते सम्ममा कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्ण खोप सुनिश्चितताको घोषणा गरिसकेका छन् ।

चालु आर्थिक २०८२–०८३ मा पाँचथर जिल्लाले प्रदेशमै पहिलो पटक पूर्ण खोप सुनिश्चितताको घोषणा गरेको थियो । असार १६ गते खोटाङले पूर्ण खोप सुनिश्चितताको घोषणा गरेको छ । कोशी प्रदेशका १३७ वटै स्थानीय तहका १ हजार १५७ वटा वडाले खोप सुनिश्चितताको घोषणा गरिसकेको खोप अधिकृत भण्डारीले बताउनुभयो ।

कोशी प्रदेशका सबै जिल्लाले पूर्णखोप सुनिश्चितताको घोषणा गरिसकेकाले अब प्रदेश घोषणाको तयारीमा रहेको हो । खोप कभरेज कम हुनु, प्राप्त लक्ष्य र प्रगतिमा तालमेल नहुनु मुख्य चुनौती रहेको खोप अधिकृत भण्डारीले बताउनुभयो । 

नेपाल सरकारले क्षयरोग, रोटा, पोलियोमाइलाईटिस, न्यूमोनिया, मेनिन्जाईटीस, भ्यागुते रोग, लहरे खोकी, हेपाटाइटिस बी, धनुष्टङ्कार, दादुरा, रुबेला, जापानिज इन्सेफलाइटिस र टाइफाइड) रोग विरुद्धका खोपहरू दिने गरेको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा ०–१५ महिनाका ७९ हजार ८२७ र १६ देखि ५९ महिनाका २ लाख ८ हजार २०१ ले पूर्ण खोप लगाएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button