तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयकसहित चारवटा विधेयक प्रतिनिधि सभाबाट स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाको आज बसेको दोस्रो बैठकले विभिन्न चारवटा विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले प्रस्तुत गर्नुभएको सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ स्वीकृत गरेको हो ।

यसैगरी भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो ।

सभामुख डोल प्रसाद अर्यालले आज स्वीकृत भएका चारवटै विधेयकहरूमाथि संशोधन दर्ता गराउन चाहने सांसदहरुले संघीय संसद् सचिवालय प्रतिनिधि सभाको विधेयक शाखामा संशोधन दर्ता गर्न सक्ने जानकारी गराउनुभयो ।

सभाबाट स्वीकृत भएका चारवटै विधेयकहरू सम्बन्धित मन्त्रीहरूले सभाको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक असार १८ गते बिहीबार बिहान ११ बजे बस्ने छ ।

यसैबीच, प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभाका पूर्व सदस्य राजेन्द्र खरेलप्रति शोक प्रस्ताव पारित गरेको छ ।  

नेपाली कांग्रेसका तर्फबाट २०५६ सालको आम निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लाबाट निर्वाचित सांसद पूर्व सांसद खरेलको असार ७ गते उपचारका क्रममा निधन भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button