तपाईँ सुन्दै हुनुहुन्छः

बारामा मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । 

वीरगन्जतर्फ गइरहेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले सडक पार गरिरहेका एक व्यक्तिलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो। 

प्रहरीका अनुसार दुर्घटना छातापिपरा चोक क्षेत्रमा भएको थियो । ठक्करपछि मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकलमा सवार दुई युवक तथा एक पैदलयात्रीको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेका अनुसार मृतक मध्ये दुई जनाको पहिचान भइसकेको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया स्थायी घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएका २० वर्षीय सभ्य अधिकारी तथा काठमाडौँको टोखा नगरपालिकाका २० वर्षीय डिजेन जोशी रहेका छन्। 

दुर्घटनामा ज्यान गुमाएका पैदलयात्रीको भने परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकहरूको शव हाल बयोधा अस्पताल तथा नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button