बाजुरामा बस दुर्घटना २४ जना घाइते
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–१० रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन्।
महेन्द्रनगरबाट मार्तडी आउँदै गरेको सु.प.प्र. ०१–००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भई सडकछेउको नालीतर्फ पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बसमा चालक सहित ३४ जना सवार रहनुभएको थियो । घाइतेमध्ये २३ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ भने गम्भीर घाइते हिमाली गाउँपालिका–४ का २७ वर्षीय नकेन्द्र मल्ललाई थप उपचारका लागि बयालपाटा अस्पताल अछाममा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो ।
अधिकांश घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ। चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान जारी रहेको र सडक सुरक्षामा थप सतर्कता अपनाउन यातायात व्यवसायी सबैलाई आग्रह गरिएको प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्