स्याङ्जाको गल्याङमा कृषि बजार केन्द्र सञ्चालन, किसानले उचित मूल्य पाउने
स्याङ्जा । किसानले मेहनतका साथ उत्पादन गरेका कृषि उपजले बजार नपाउने र बिचौलियाका कारण उचित मूल्य नपाउने वर्षौँदेखिको समस्या समाधान गर्न स्याङ्जाको गल्याङमा कृषि बजार केन्द्र सञ्चालनमा ल्याइएको छ।

स्थानीय किसानलाई बजारसँग सिधै जोड्दै उनीहरूको आयआर्जन वृद्धि गर्ने उद्देश्यले गल्याङ नगरपालिका–३ मा ‘गल्याङ कृषि बजार केन्द्र’ स्थापना गरिएको हो।
पकवादी कृषि सहकारी संस्थाको आयोजना तथा हेफर इन्टरनेशनल नेपाल र गल्याङ नगरपालिकाको सहयोगमा स्थापना गरिएको उक्त कृषि बजार केन्द्रको बुधबार गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईले उद्घाटन गर्नुभएको हो ।
स्थानीय स्तरमा उत्पादित कृषि उपजहरूको सहज सङ्कलन, बिक्री वितरण तथा बजारीकरण गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको बजार केन्द्रबाट किसानले आफ्नै क्षेत्रमा उत्पादन बिक्री गर्न सक्नेछन् । यसले बिचौलियाको निर्भरता कम गर्नुका साथै उत्पादनको उचित मूल्य प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै उपभोक्ताले पनि ताजा र गुणस्तरीय कृषि उपज सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख गुरु प्रसाद भट्टराईले कृषि क्षेत्रलाई नगरको आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाइएको बताउनुभयो । उहाँले किसानको उत्पादनलाई बजारसँग जोड्न कृषि बजार केन्द्र महत्वपूर्ण कदम भएको उल्लेख गर्नुभयो ।
त्यस्तै हेफर इन्टरनेशनल नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु पाण्डेले स्थानीय सरकार, सहकारी संस्था र कृषकबीचको सहकार्यले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले कृषि बजार केन्द्रले किसानलाई उत्पादन बढाउन थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख हेमा तिमिल्सिनाले कृषकको उत्पादनले सुनिश्चित बजार पाउँदा कृषि पेसाप्रति आकर्षण बढ्ने बताउनुभयो । उहाँले विशेषगरी महिला तथा साना किसानलाई यसले आर्थिक रूपमा सशक्त बनाउन सहयोग गर्ने धारणा राख्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले कृषि बजार केन्द्रले किसान र उपभोक्ताबिचको प्रत्यक्ष सम्बन्ध स्थापित गरी स्थानीय उत्पादनको प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी स्थानीय कृषकहरूले उत्पादन बिक्रीका लागि टाढा बजार धाउनुपर्ने बाध्यता कम हुने र आफ्नै क्षेत्रमा उचित मूल्य पाउने अपेक्षा व्यक्त गरेका छन् । उनीहरूका अनुसार बजार केन्द्र सञ्चालनमा आएपछि उत्पादनको बिक्री सुनिश्चित हुनुका साथै कृषि व्यवसायलाई थप विस्तार गर्न सहज हुने विश्वास लिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्