तपाईँ सुन्दै हुनुहुन्छः

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न स्थलगत अध्ययन

मकवानपुर । विगत २६ वर्षदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि अध्ययन र आवश्यक तयारी थालिएको छ।

संघीय सरकारले उद्योग सञ्चालनमा चासो देखाएसँगै स्थानीय सरकारले पनि सक्रियता बढाएको हो।

यसैक्रममा, हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहितको सरकारी टोलीले उद्योग परिसरको स्थलगत निरीक्षण गरेको छ। निरीक्षण टोलीले उद्योगको वर्तमान भौतिक अवस्था, उपलब्ध पूर्वाधार, आवश्यक संरचनागत सुधार र लगानीको सम्भावनाबारे छलफल गरेको छ। स्थानीय र संघीय सरकारबीचको समन्वय तथा सहकार्यमा उद्योगलाई पुनर्जीवन दिने तयारी भइरहेको छ। यसअघि गत जेठ ९ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पनि यो उद्योगको निरीक्षण गर्नुभएको थियो।

चिनियाँ सरकारको सहयोगमा स्थापना भई विसं २०३५/३६ देखि व्यावसायिक उत्पादन सुरु गरेको यो उद्योग २०५७ साल फागुन १ गतेदेखि पूर्ण रूपमा बन्द भएको थियो। कुनै समय नाफामा रहेर कर्मचारीलाई बोनस बाँड्ने अवस्थामा पुगेको यो उद्योग पछि आन्तरिक समस्या र बजार प्रतिस्पर्धामा टिक्न नसक्दा बन्द हुन पुगेको हो।

दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्ने क्षमता भएको यो उद्योगका मेसिनरी प्लान्टहरू अहिले पूर्ण रूपमा खिया लागेका छन् भने भवन र आवास गृहहरू जीर्ण अवस्थामा पुगेका छन्। सरकार परिवर्तन भएसँगै नीति तथा कार्यक्रममा यो रुग्ण उद्योग सञ्चालनको विषय चर्चामा आउने गरेपनि अहिलेसम्म ठोस काम हुन सकेको थिएन।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको यो उद्योग १६५ रोपनी क्षेत्रफलमा फैलिएको छ भने हाल यसको सुरक्षाका लागि सशस्त्र प्रहरी बलको क्याम्प राखिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button