तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा: सुस्ता र सीमा क्षेत्रमा भारतीय अतिक्रमणदेखि चिया उद्योग बन्दसम्मका विषयमा सरकारको ध्यानाकर्षण 

काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठकको सुरुमा प्रतिपक्षी दलका सांसदहरुले नेपालको भूमि सुस्ता र सीमा क्षेत्रमा भारतीय पक्षबाट दुःख दिइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै समस्या समाधान गर्न माग गर्नुभयो । 

सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको भनेर अभिव्यक्ति दिएपछि भारतीय सीमा बलले सुस्ता लगायत सीमा क्षेत्रमा नेपालीहरूलाई दुःख दिइरहेको भन्दै समस्या समाधान गर्न सरकारले के गरिरहेको छ भनी जवाफ माग गर्नुभयो ।

बैठकमा नेकपा एमाले एमाले संसदीय दलका उपनेता पद्मा आर्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्नकर्ता सांसदहरूलाई पुराना दलका सांसद र नेताहरूको काण्डबारे आफू जानकार रहेको र फाइल खोल्ने भनेर धम्की दिएको भन्दै यसमा जवाफ माग गर्नुभयो ।

उहाँले टि स्टेटदेखी ओम्नी र वाइडबडीलगायतको खाता खोलेर साँचो कुरा जे हो त्यो बाहिर ल्याउन माग गर्दै छानबिनले सत्य ठहरिएन भने गम्भीर आरोप लगाउनेहरू कानुनी कठघरामा उभिन तयार हुनुपर्ने बताउनुभयो ।

नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले भारतीय सेनाको हेलिकप्टर बिना अनुमति नेपाली भूमिमा दार्चुला अवतरण गरेको र सुरक्षा निकायका कुनै प्रमुख व्यक्ति सवार भएको भन्ने विषयमा प्रश्न गर्दै सरकारसँग जवाफ माग गर्नुभयो ।

प्रमुख सचेतक दुलालले भारतीय पक्षबाट चिया निर्यातमा समस्या उत्पन्न गर्दा इलामको चिया उद्योग बन्द हुने अवस्थामा पुगेको र चिया कृषकहरू मारमा परेको भन्दै समस्या समाधानका लागि के प्रयास भइरहेको छ जवाफ दिन सरकारसँग माग गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले पश्चिम नवलपरासीको सुस्तामा हतियारधारी भारतीय एसएसबीका जवानहरू बिना अनुमति नेपाली भूमिमा छिरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै सुरक्षाको व्यवस्था गर्न माग गर्नुभयो ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति संसदको रेकर्ड हटाउने, प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउने र प्रधानमन्त्रीको भनाई पछि सुस्तामा भारती पक्षबाट उत्पन्न समस्या समाधानमा समयमा नै ध्यान दिन माग गर्नुभयो । 

अध्यक्ष राईले पछिल्ला समय देखिएका विद्यार्थीका मोबाइल खोसेर पानीमा डुबाउने, टेम्पो भिरबाट खसाल्ने तथा जनतालाई सुरक्षा दिनुपर्ने प्रहरीबाटै जनताको घरको छानामा ढुङ्गा हान्दै गरेका दृश्य देखिन थलेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आम मानिसलाई सुरक्षा र शान्तीको महशुस गराउन आग्रह गर्नुभयो ।  

सांसदहरुले बर्षायाममा सडक विस्तार गर्ने भन्दै नागरिकका घर भत्काउने काम गरिरहेको भन्दै त्यस्ता कार्य रोक्न सरकारसँग माग गर्नुभयो । 

सांसदहरुले धान रोपाइ र वर्षाको समयमा रासायनिक मलको अभावका हुन नदिन, सिँचाइको प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

सांसदहरुले इलाममा उत्पादित चिया निर्यातमा उत्पन्न समस्या तत्काल समाधान गरी नेपाली चिया उद्योग बन्द हुने अवस्थाको अन्त्य गर्न माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button