लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
काठमाडौँ। रसुवाको प्रसिद्ध पर्यटकीय स्थल लाङटाङको क्यान्जिन गुम्बालगायत स्थानमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ ।

प्राधिकरणको रसुवा वितरण केन्द्र प्रमुख गुञ्जमान तामाङका अनुसार गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङको क्यान्जिन गुम्बा र आसपासका क्षेत्रमा केन्द्रीय प्रसारण लाइन जोडिएसँगै नियमित रुपमा बिजुली बल्न थालेको छ ।
प्राधिकरणले गोसाइँकुण्ड, लाङटाङलगायत पर्यटकीय क्षेत्रमा विद्युत् सेवा उपलब्ध गराउनका लागि रु नौ करोड बराबरको लगानी गरिएको केन्द्र प्रमुख तामाङले जानकारी दिनुभयो ।
केन्द्रीय प्रसारण लाइन जोडिएपछि लाङटाङ क्षेत्रका करिब २०० घरधुरीमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । केन्द्रीय प्रसारण लाइनको बिजुली जोडिएपछि होटल व्यवसायी लाभान्वित भएका छन् ।
यस्तै, पर्यटक तथा होटल व्यवसायी स्थानीयवासीमा खुसीयाली छाएको छ ।
यस्तै, स्थानीय क्यान्जिन भ्यालीमा सञ्चालनमा रहेको चिज उद्योग, बेकरी उद्योगलगायत अन्य साना घरेलु उद्योगका साथै ठूला होटल व्यवसायीलाई व्यवसाय सञ्चालनमा ठूलो टेवा र राहत पुगेको केन्द्र प्रमुख तामाङको कथन छ ।
क्यान्जिन गुम्बा लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेको एक प्रसिद्ध हिमाली बस्तीका रुपमा स्थापित छ । समुद्री सतहबाट करिब तीन हजार ८७० मिटर उचाइमा रहेको यो स्थान लाङटाङ पदयात्राको प्रमुख गन्तव्यसमेत हो । सो स्थानबाट हिमाल, हिमनदी तथा आसपासका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
प्राधिकरणले पर्यटकीय क्षेत्र र विद्युत् सेवा नपुगेका स्थानहरूमा नियमित रुपमा बिजुली उपलब्ध गराउने अभियानलाई तीव्र पारेको छ । गत वर्ष मात्रै रसुवाको पर्यटकीय स्थल गोसाइँकुण्डमा बिजुली पुगेको थियो ।
यसअघि सो स्थानमा कादुरी फाउण्डेसनले निर्माण गरेको १०० किलोवाट क्षमताको लघु जलविद्युत् च्योहा खोला जलविद्युत् आयोजनाबाट विद्युत् सेवा उपलब्ध थियो ।
“उक्त विद्युत् गृहमा समस्या आएपछि मर्मतमा लामो समय लाग्ने देखियो, वडा कार्यालयले नै समन्वय गरेर हामीले प्राधिकरणको लाइन जोडेका छौँ,” गोसाइँकुण्ड गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष डिण्डु लामा जाङ्वा तामाङले भन्नुभयो ।
लघुजलविद्युत् आयोजनालाई मर्मत गरी प्राधिकरणको प्रसारण लाइनमा नै ‘सिङ्क्रोनाइज’ गर्ने व्यवस्था मिलाइने अध्यक्ष तामाङको भनाइ छ ।रासस








प्रतिक्रिया राख्नुहोस्