प्रतिनिधिसभा बैठक: राष्ट्रियताका सवालमा विपक्षीबाट सरकारको जवाफ माग
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरूले राष्ट्रियताको सवालमा नेपाल सरकार गम्भीर हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएका छन् ।

बैठकको सुरुमै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका संसदीय दलका उपनेता पद्मा अर्याललाई बोल्न समय दिनुभएको थियो ।
सांसद अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा दिनुभएको अभिव्यक्तिका सन्दर्भमा जवाफ माग गर्नुभयो । नेता अर्यालले संसद्मा जवाफमा क्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिनुभएको अभिव्यक्तिका सम्बन्धमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहको गत जेठ १७ गते सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गर्नुभयो । उहाँले एसइईका विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गर्ने, टेम्पो भीरबाट खसाल्ने र प्रहरीले व्यक्तिको घरमा ढुङ्गा हानेर क्षति पुर्याउनेलगायतका काम गलत भएको भनी टिप्पणी गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले भारतीय सेनाको हेलिकप्टर दार्चुलाको भूमिमा प्रवेश गरेको विषयमा सरकारको जवाफ माग गर्नुभयो । उहाँले इलामको प्रसिद्ध चिया उद्योग बन्द हुन लागेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाली कांग्रेसका सांसद रेनुका काउँचाले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिनसम्बन्धी समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी एसएसबीको हस्तक्षेपप्रति विनावर्दीका सिपाही बनेर नेपाली नागरिकले देखाएको अदम्य साहसप्रति सम्मान गर्नुभयो । उहाँले सीमा क्षेत्रमा रहेका नेपालीहरूप्रति सरकार संवेदनशील हुनुपर्ने माग गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्