तपाईँ सुन्दै हुनुहुन्छः

सीमा विवादपछि लाम्पाटामा सुरक्षा कडाइ, संयुक्त प्रहरी बेस स्थापना

बाजुरा। बाजुरा र हुम्लाबीचको सीमा विवादका कारण लामो समयदेखि तनावग्रस्त बनेको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको छ। विवादित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सुरक्षा बेस स्थापना गरिएको हो।

सुरक्षा बेसमा २८ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। बाजुरा सदरमुकाम मार्तडीबाट जेठ २७ गते हिँडेको सुरक्षा टोली तीन दिनको पैदल यात्रापछि शनिबार लाम्पाटा पुगेको थियो।

सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा २१ जना सशस्त्र प्रहरी र प्रहरी सहायक निरीक्षक मिठ्ठुबहादुर बोहराको नेतृत्वमा ७ जना नेपाल प्रहरी गरी संयुक्त टोलीले क्षेत्रको सुरक्षा जिम्मेवारी सम्हालेको छ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार कम्तीमा तीन महिनासम्म सुरक्षा बेस सञ्चालन गरी लाम्पाटा तथा रानीसैन क्षेत्रमा नियमित गस्ती गरिनेछ।

लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापनाको विषयलाई लिएर बाजुरा र हुम्लाबीच विवाद चर्किएपछि पछिल्लो समय स्थानीयमाथि कुटपिट, दुर्व्यवहार तथा भोटे समुदायका गोठमा आगजनीजस्ता घटना भएका थिए।

घटनापछि केन्द्रीय सुरक्षा समितिले संयुक्त सुरक्षा बेस स्थापना गर्ने निर्णय गरेको हो। घटनामा संलग्न रहेको आरोपमा हुम्लाका २३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भए पनि हालसम्म कसैलाई पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ।

पीडित पक्षले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलन जारी राखेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button