निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना लाभान्वित

कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको समन्वय तथा विभिन्न स्वास्थ्य संस्थाको सहकार्यमा शिवराज अस्पताल, बहादुरगञ्जमा सञ्चालित निःशुल्क मुटु, मिर्गौला तथा बहु–विशेषज्ञ स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना बिरामी लाभान्वित भएका छन्।
कृष्णनगर नगरपालिका, सेभ द हार्ट, महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मिर्गौला रोग विभाग, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा प्रत्यारोपण केन्द्र तथा देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटको सहकार्यमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक परीक्षण सेवा प्रदान गरेका थिए।

शिविरप्रति स्थानीय नागरिकको उल्लेखनीय आकर्षण देखिएको थियो। कृष्णनगर नगरपालिकासहित विजयनगर गाउँपालिका, शिवराज नगरपालिका तथा महाराजगञ्ज नगरपालिकाका नागरिकले समेत सेवा लिएका थिए।
शिविरमा मुटुरोग सम्बन्धी १ हजार ६ सय ५ जना, मिर्गौला रोग सम्बन्धी ४ सय ८ जना, स्त्री तथा प्रसूति रोग सम्बन्धी ४ सय ६ जना, मानसिक स्वास्थ्य सम्बन्धी २ सय १६ जना, हाडजोर्नी तथा नसा रोग सम्बन्धी ८ सय ३० जना तथा नाक, कान र घाँटी ९ईएनटी० सम्बन्धी ३ सय २० जनाले सेवा प्राप्त गरेका छन्।
त्यसैगरी ५ सय ९१ जनाको ईसीजी, ३ सय ८१ जनाको इको, ३ सय ६६ जनाको एक्स–रे, ७ सय ६३ जनाको प्रयोगशाला ९ल्याब० परीक्षण तथा ४ सय २३ जनाको अल्ट्रासाउण्ड (यूएसजी) परीक्षण गरिएको जनाइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले विशेषज्ञ स्वास्थ्य सेवा घरदैलोमै उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो।
उहाँले यस्ता कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा उपचारको पहुँचभन्दा बाहिर रहेका नागरिकलाई ठूलो राहत पुगेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य सेवा अभियानलाई निरन्तरता दिइने बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले शिविरबाट हजारौँ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएको उल्लेख गर्दै स्थानीय सरकार, स्वास्थ्य संस्था र नागरिकको सक्रिय सहभागिताले कार्यक्रम सफल भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता जनहितमुखी स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
कार्यक्रमका सम्पर्क व्यक्ति डा.दुर्गेश चौधरीले अपेक्षाभन्दा बढी नागरिकको सहभागिता रहेको बताउँदै विशेषज्ञ चिकित्सकमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सफल भएको बताउनुभयो। उहाँका अनुसार शिविरमा पहिचान भएका जटिल प्रकृतिका बिरामीहरूको थप उपचार तथा रेफरल व्यवस्थासमेत गरिएको छ।
आयोजकका अनुसार आर्थिक अभाव तथा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले हजारौँ नागरिकलाई प्रत्यक्ष लाभ पुर्याएको छ। विशेषज्ञ चिकित्सकहरूको सहभागिताले स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्