मुगुमा आलु खेती आयआर्जनको आधार, मूल्य नपाउँदा किसान चिन्तित
मुगु । हिमाली जिल्ला मुगुमा आलु खेती किसानहरूको मुख्य आयआर्जनको आधार बनेको छ। जिल्लाभरका अधिकांश ग्रामीण बस्तीमा किसानहरूले आलु खेतीलाई नगदे बालीका रूपमा अपनाएका छन्। उत्पादन राम्रो भए पनि उचित मूल्य, बजार पहुँच र यातायातको अभावका कारण किसानहरूले अपेक्षित लाभ लिन नसकेको गुनासो गरेका छन्।
विशेषगरी छायाँनाथ रारा नगरपालिका अन्तर्गत लिउडी, घट्टलेख, तलिलेख, रोवा, सोवा, मुर्मा, ताव्च, पिना, टोप्ला, लुवारपोल्ना, तुम, माथितुम, ढुम, कार्कीवाडा, भामवाडा लगायतका दर्जनौँ गाउँका कृषकहरू आलु खेतीबाट आशाअनुसार आम्दानी हुन नसकेको बताउँछन्। जिल्लाका अन्य स्थानीय तहहरूमा समेत आलु उत्पादन राम्रो हुने गरे पनि बजारसम्म पुर्याउन कठिन हुँदा किसानहरू समस्यामा परेका छन्।
छायाँनाथ रारा नगरपालिका–१०, लिउडीका कृषक रूपबहादुर सेजुवाल भन्नुहुन्छ, “आलु खेती नै हाम्रो मुख्य आम्दानीको स्रोत हो। वर्षभरि दुःख गरेर उत्पादन गरिन्छ, तर बजारसम्म पुर्याउन निकै सास्ती छ। ३० किलो आलु पिठ्युँमा बोकेर घण्टौँ हिँडेर बजार पुग्दा पाँच सय रुपैयाँ जति मात्रै हात पर्छ। मेहनत र खर्चको तुलनामा आम्दानी निकै कम छ।”
त्यस्तै छायाँनाथ रारा नगरपालिका– वडा नं १२, सोभाका युवा कृषक धनबहादुर सावत भन्नुहुन्छ, “हाम्रो गाउँमा उत्पादन राम्रो हुन्छ, तर सडक र यातायातको सुविधा नहुँदा धेरै आलु घरमै उपभोग गर्नुपर्ने अवस्था छ। बजारसम्म लैजान सकिने परिमाण सीमित हुन्छ। उत्पादनको उचित मूल्य पाउन नसक्दा खेतीप्रतिको उत्साह घट्दै गएको छ।”
मुगुका अधिकांश गाउँहरूमा आलु उत्पादन भए पनि सडक तथा यातायातको सहज पहुँच नहुँदा किसानहरू बजारसम्म उत्पादन पुर्याउन सकिरहेका छैनन्। कतिपय स्थानमा उत्पादित आलु घरायसी उपभोग तथा तरकारीका रूपमा प्रयोग हुने गरेको छ भने बिक्रीका लागि बजारसम्म ढुवानी गर्न कठिन हुने गरेको किसानहरूको भनाइ छ।
किसानहरूका अनुसार आलु उत्पादनका लागि बीउ, मल, श्रम तथा ढुवानीमा ठूलो खर्च लाग्ने भए पनि बिक्री मूल्य न्यून हुँदा लागतसमेत उठाउन कठिन भइरहेको छ। उत्पादन राम्रो भएको वर्षमा झन् मूल्य घट्ने र बजार अभावका कारण धेरै आलु खपत हुन नसक्ने समस्या रहेको उनीहरू बताउँछन्।
स्थानीय कृषकहरू बिचौलियाको प्रभाव, संकलन केन्द्रको अभाव तथा बजार व्यवस्थापन कमजोर हुँदा किसानले उत्पादनको उचित मूल्य पाउन नसकेको बताउँछन्। जिल्लाका अधिकांश उत्पादनशील गाउँहरू सडक सञ्जालसँग पूर्ण रूपमा नजोडिएकाले कृषि उत्पादनलाई बजारसम्म पुर्याउन चुनौती रहेको छ।
किसानहरूले आलुको न्यूनतम समर्थन मूल्य निर्धारण, गाउँस्तरमा संकलन केन्द्र स्थापना, कृषि सडक विस्तार, ढुवानीमा सहुलियत तथा बजार व्यवस्थापनमा सरकारी पहल आवश्यक रहेको माग गरेका छन्। उनीहरूका अनुसार उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न सके आलु खेती मुगुका किसानहरूको आर्थिक उन्नतिको बलियो आधार बन्न सक्छ।
हिमाली भेगको प्रमुख नगदे बालीका रूपमा रहेको आलु खेतीले अहिले पनि हजारौँ किसानको जीवन धानेको छ। तर उत्पादन, बजार र यातायातबीचको दूरी घटाउन नसकिए किसानले आफ्नो मेहनतअनुसारको प्रतिफल पाउने अवस्था अझै बन्न सकेको छैन।








प्रतिक्रिया राख्नुहोस्