तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा रेल ओभरब्रिज निर्माणमा ढिलाइ, स्थानीयलाई सास्ती

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुर क्षेत्रमा निर्माणाधीन रेल ओभरब्रिज (आरओबी) तोकिएको समय सीमा सकिन लाग्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासी तथा यात्रुहरूले सास्ती खेपिरहेका छन् । निर्माण कार्यमा भएको ढिलाइले विकास आयोजनाको प्रभावकारितामाथि नै प्रश्न उठ्न थालेको छ । 

नेपाल सरकारको रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनाअन्तर्गत निर्माण भइरहेको ओभरब्रिजको सम्झौता २०७९ असार २३ गते भएको थियो । आयोजनास्थलमा राखिएको सूचना बोर्डअनुसार २०८३ असार २२ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । करिब ३८ करोड ११ लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजनाको निर्माण जिम्मा धरानस्थित सूर्य एण्ड सन्स प्रालिले पाएको छ । 

मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत सिमरा खण्डको चेन ४८+९८० मा निर्माणाधीन पुलको मुख्य संरचना निर्माण भइसकेको देखिए पनि पहुँच मार्ग, साइड संरचना तथा अन्य सहायक पूर्वाधारको काम अझै पूरा हुन सकेको छैन । यस कारण पुल सञ्चालनमा ल्याउन सकिने अवस्था बनेको छैन । 

स्थानीयवासीका अनुसार निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि काम सम्पन्न नहुँदा दैनिक जनजीवन प्रभावित भएको छ । विशेषगरी चन्द्रनिगाहपुर–गौर सडकखण्ड प्रयोग गर्ने यात्रु तथा सवारी चालकहरू धुलो, हिलो र जामको समस्याबाट हैरान छन् । 

निर्माणका क्रममा सडक खनेर छाडिएको तथा निर्माण सामग्री र माटो थुपारिएका कारण सडकको अवस्था बिग्रिएको स्थानीयको गुनासो छ । पानी नपरेको बेला अत्यधिक धुलो उड्ने र वर्षा हुँदा सडक हिलाम्मे बन्ने भएकाले आवागमनमा कठिनाइ भइरहेको उनीहरू बताउँछन् । मोटरसाइकल चालक तथा पैदलयात्री बढी प्रभावित भएका छन् । 

आयोजना ढिलाइ हुनुको कारणबारे भने सम्बन्धित पक्षबीच फरक–फरक धारणा देखिएको छ । रेल विभागका अधिकारीहरूले निर्माण कम्पनीको ढिलासुस्ती तथा व्यवस्थापकीय कमजोरीका कारण कामले गति लिन नसकेको बताएका छन् । यता निर्माण पक्षले भने डिजाइनसम्बन्धी समस्या तथा पटक–पटक भएको संशोधनका कारण निर्माण प्रभावित भएको बताउँदै आएको छ । स्थानीयवासीले भने दोष कसको हो भन्ने भन्दा पनि आयोजना कहिले सम्पन्न हुन्छ भन्ने चासो व्यक्त गरेका छन् । लामो समयदेखि निर्माण कार्य लम्बिँदा जनताले अपेक्षित सुविधा पाउन नसकेको उनीहरूको भनाइ छ ।

निर्धारित समय सीमा सकिन लाग्दा पनि काम सम्पन्न हुने सम्भावना न्यून देखिएकाले आयोजनाको म्याद थपिन सक्ने अनुमान गरिएको छ । रेलमार्ग विस्तारसँगै सडक यातायातलाई सुरक्षित, व्यवस्थित र आधुनिक बनाउने उद्देश्यले सुरु गरिएको यो परियोजना समयमै सम्पन्न हुन नसक्दा सरोकारवाला निकायको कार्यसम्पादनमाथि प्रश्न उठ्न थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button