तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपा बाजुराको जिल्ला सभापतिमा नवराज जैशी पुनः निर्वाचित

बाजुरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाजुराको प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ। 

आइतबारदेखि सुरु भएको अधिवेशनको बन्द सत्रले नवराज जैशीको सभापतित्वमा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

जिल्ला कार्यसमितिमा सभापति सहित ९ सदस्यीय नेतृत्व चयन गरिएको छ। उपसभापतिमा पूर्णलाल पाण्डे, सचिवमा विक्रम गुयाल, सह सचिवमा विर्ख विष्ट तथा कोषाध्यक्षमा सीता बुढा (ओली) सर्वसम्मत रूपमा चयन हुनुभएको रास्वपा केन्द्रिय सदस्य खेमराज साउँदले बताउनुभयो । अन्य सदस्यहरू पनि सहमतिका आधारमा चयन गरिएको पार्टीले जनाएको छ।

अधिवेशनका क्रममा सचिव पदलाई लिएर केही असन्तुष्टि देखिएको थियो। नेतृत्व चयनको प्रक्रियामा केही मतभिन्नता देखिए पनि अन्ततः पार्टीभित्र सहमतिको वातावरण कायम गर्दै सर्वसम्मत रूपमा नयाँ कार्यसमिति घोषणा गरिएको हो। यसले सङ्गठनभित्रको एकता र सहकार्यलाई थप मजबुत बनाएको नेता हेमराज थापाले बताउनुभयो ।नवनिर्वाचित सभापति जैशीले पार्टीलाई जिल्लाको प्रत्येक पालिका तथा वडास्तरसम्म विस्तार गर्दै जनताको विश्वास जित्ने गरी सङ्गठन निर्माणमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले जिल्लामा सङ्गठन विस्तार, युवाको सहभागिता वृद्धि, जनसरोकारका मुद्दाको उठान तथा विकास निर्माणका गतिविधिमा सक्रिय भूमिका खेल्ने केन्द्रिय सदस्य साउदले विश्वास व्यक्त गर्नुभयो ।प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै रास्वपा बाजुराले अब सङ्गठन बिस्तारको कामलाइ तीव्रता दिने जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button