प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै प्रतिपक्षी दलले विरोध जारी राखेपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले अवरोध कायमै राखेका छन् ।
सभाको आजको बैठक शुरु भए लगत्तै प्रतिपक्षी दलका सबै सांसदहरू उठेर विरोध शुरु गर्नुभयो ।
बैठकमा प्रतिपक्षी दलका सांसदहरुले अवरोध शुरु गरेपछि सभामुख डोलप्रसाद अर्यालले सीमा विवादबारे विपक्षी दलहरूले उठाएका विषयमा सरकार गम्भीर रहेको विश्वास व्यक्त गर्नुभयो ।
सभामुख अर्यालले विगत केही दिनदेखि सदन स्थगित भइरहेको, सदनमा उठिरहेको विषयमा आफ्नो ध्यानाकर्षण भएको र सत्तापक्षबाट प्रतिपक्षी दलसँग संवाद भइरहेको पनि बताउनुभयो ।
उहाँले प्रतिपक्षीले उठाएका विषयमा सरकार पनि गम्भीर रहेको विश्वास रहेको भन्दै बैठकको कार्यसूची अगाडि बढाउन प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो ।
बैठकमा नेकपा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले प्रधानमन्त्री शाहले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लङ्घन गर्दै अभिव्यक्ति दिएको भन्दै भुल सुधार गर्नुपर्ने र क्षमा माग्नै पर्ने अडान राख्नुभयो ।
एमाले संसदीय दलका उपनेता अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आर्थिक विधेयकमा अर्थ मन्त्रालयले गरेको करको दर हेरफेरको विषय सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरूले संसदमा दर्ता भएको आर्थिक विधेयकको १६ पृष्ठ गायब भएको, करका दर हेरफेर भएको भन्दै यो काम कसरी भयो र चुहावट कसरी भयो भन्ने विषयमा प्रश्न गर्नुभयो ।
सांसद शाहीले करका दर हेरफेर हुन लागेको विषय चुहावट हुनु सामान्य विषय नभएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन हुनुपर्ने बताउनुुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका नेता एवं सांसद वर्षमान पुनले प्रधानमन्त्री शाहले दिनुभएको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हट्नुपर्ने बताउनुुभयो ।
उहाँले प्रधानमन्त्री शाहले संसदमा आएर जवाफ दिनुपर्छ भन्ने प्रतिपक्षीको तर्फबाट आफूहरूको अडान कायम रहेको भन्दै सभाको बैठक केही समय बैठक रोकेर छलफल गर्न आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका सांसद सन्तोष सुब्बाले प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर दिनुभएको अभिव्यक्ति भत्सर्ना योग्य रहेको भन्दै त्यसलाई विषयान्तर नगरी सच्याउन र संसदप्रति उत्तरदायी बनेर जवाफ दिन माग गर्नुभयो ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति सच्याउन पर्ने माग गर्दै सिमानामा नेपाली सेना खटाउने र तैनाथ राख्नुपर्ने बताउनुुभयो ।
बैठकमा प्रतिपक्षी दलका सांसदहरूलाई बैठकलाई कार्यसूचीमा प्रवेश गराउन सहयोग गर्न पटक पटक आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जारी राखेपछि सभामुख अर्यालले बैठक आजै १५ मिनेटका लागि स्थगित गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्