तपाईँ सुन्दै हुनुहुन्छः

हराउँदै गएको रैथाने बाली जोगाउदै कृषक 

अछाम । अछामको चौरपाटी गाउँपालिका–५ लुंग्राका कृषकहरूले हराउँदै गएको रैथाने बाली संरक्षण अभियान सुरु गरेका छन् । स्थानीय कृषकहरूले यस वर्षदेखि कोदो, भटमास, जुवारो, धान, मकै लगायत स्थानीय जातका बाली पुनः खेती गर्न थालेका हुन् ।

वि–क्यान परियोजनाको सहयोगमा सम विकास नेपालले विभिन्न गाउँमा रैथाने बाली संरक्षणसम्बन्धी अभियान सञ्चालन गरेपछि कृषकहरू यस अभियानप्रति आकर्षित भएका छन् । पछिल्लो समय हाइब्रिड बालीको प्रयोग बढ्दै जाँदा परम्परागत स्थानीय बाली लोप हुने अवस्थामा पुगेपछि संरक्षण अभियानलाई तीव्र बनाइएको हो ।

स्थानीय कृषक मिठ्ठुदेवी खड्का र चन्द्रकला पाण्डेले आफूहरूले विगतदेखि नै रैथाने बाली लगाउँदै आएको बताउनुभयो । तर जङ्गली जनावरका कारण बाली जोगाउन चुनौती भइरहेको उहाँहरूको भनाइ छ । उहाँहरूले रैथाने बाली स्वादिलो, पोषणयुक्त तथा स्वास्थ्यका लागि लाभदायक भएकाले यसको संरक्षण आवश्यक रहेको धारणा राख्नुभयो ।

कृषि प्राविधिक कलशी कठायतका अनुसार रैथाने बाली पोषणयुक्त, रोग प्रतिरोधात्मक क्षमता भएका तथा स्थानीय वातावरणसँग सहज रूपमा अनुकूल हुने भएकाले यसको संरक्षण अपरिहार्य छ ।

वडा अध्यक्ष हिमकर्ण खड्काले रैथाने बाली स्वादिलो, स्वस्थकर र कम खर्चिलो हुने भएकाले यसको खेती विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

रैथाने बाली संरक्षण अभियानले स्थानीय कृषि संस्कृति जोगाउनुका साथै कृषकलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button