तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा “प्रथम वीरगञ्ज अन्तर विद्यालय फुटबल प्रतियोगिता–२०८३” शुरु

वीरगञ्ज । राष्ट्रको पहिचान, युवाको स्वास्थ्य तथा अनुशासित समाज निर्माणको महत्वपूर्ण माध्यमका रूपमा रहेको खेलकुदको प्रवद्र्धन गर्ने उद्देश्यले वीरगञ्जमा “प्रथम वीरगञ्ज अन्तर विद्यालय फुटबल प्रतियोगिता–२०८३” शुरु भएको छ । 

वीरगञ्ज यूथ एकेडेमीको आयोजनामा तथा मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुलको सह–आयोजनामा शुरु भएको प्रतियोगिता आगामी जेठ २५ गतेसम्म वीरगन्जको आदर्शनगर फुटबल मैदानमा सञ्चालन हुने छ ।

विद्यालय स्तरदेखि नै खेल प्रतिभाको खोजी, विकास र प्रोत्साहन गर्ने लक्ष्यसहित आयोजना गरिएको प्रतियोगितामा वीरगञ्जका विभिन्न विद्यालयका टोलीहरूको सहभागिता रहेको छ । 

प्याब्सनका प्राज्ञिक सल्लाहकार एवं मूनलाइट माविका संस्थापक श्याम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले उद्घाटन गर्नुभएको थियो । 

उद्घाटन खेलमा मूनलाइट माविले सफल विद्यालयलाई शून्यका विरुद्ध दुई गोलअन्तरले पराजित गर्‍यो । समाजसेवी तथा अधिवक्ता प्रकाश उपाध्यायले प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई नगद एक हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । 

आयोजकले प्रतियोगिताबाट नयाँ प्रतिभाशाली खेलाडीको पहिचान र स्थानीय फुटबल गतिविधिमा प्रवद्र्धन हुने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button