राष्ट्रियसभाको बैठक स्थगित, बुधबार १२ : १५ मा बस्ने
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको बहु आयामिक सम्बन्ध विपरीत दिनुभएको अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारबाही अघि बढ्न नदिने अडान लिएपछि बैठक स्थगित भएको छ ।

बैठक सुरु हुनासाथै आकस्मिक समयमा सांसदहरुले नेपालले पनि थुप्रै ठाउँमा भारतको जमिन मिचेको छ भनी मुलुकको कार्यकारी प्रमुखले संसद्को रोष्ट्रममा उभिएर बोल्नु कूटनीतिक मर्यादा विपरीत भएको भन्दै तत्काल सदनमा आएर देशवासीका नाममा माफी माग्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार र तथ्यहीन भएको बताउनुभयो ।
नेकपा एमालेका सांसद रोशनी मेचेले पनि प्रधानमन्त्री शाहले तत्काल संसद्मै आएर माफी माग्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले सीमा विवादजस्तो विषयमा राष्ट्रिय सहमति गरेर मात्रै आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने भन्दै प्रधानमन्त्री शाहको गैरजिम्मेवार भनाइले सीमा विवाद झन बल्झिँदै जाने विचार व्यक्त गर्नुभयो ।
बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले मुलुकको कार्यकारी प्रमुखले वार्ता र संवादबाट सीमा विवाद समाधान गर्नुको सट्टा भारतले समेत दाबी नगरेको अभिव्यक्ति दिनु खेदजनक भएको बताउनुभयो ।
राष्ट्रियसभाको अर्को बैठक भोलि जेठ २० गते बुधबार दिनको १२ बजेर १५ मिनेटमा बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्