तपाईँ सुन्दै हुनुहुन्छः

‘पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ’

ललितपुर । पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको  सार्थकतामा ध्यान दिनुपर्ने बनाउनुभएको छ । 

नेपाल पत्रकार महासङ्घ ललितपुरको २५ औँ वार्षिक साधारण सभामा उहाँले पत्रकारिता र सुशासनको मूल्यमान्यतालाई केन्द्रबिन्दुमा राखेर जिम्मेवारीपूर्वक पत्रकारिता गर्न आग्रहसमेत गर्नुभयो । 

कार्यक्रममा ललितपुर पत्रकारिता पुस्तक समेत विमोचन गर्दै उहाँले शब्दसँग अथाह शक्ति हुने भएकाले पत्रकारितामा त्यसको प्रयोग सही ढङ्गले हुनुपर्ने बताउनुभयो । “सनसनी फैल्याउने नाममा शब्द र सन्दर्भको गलत प्रयोग भएमा त्यसले ठूलो क्षति गर्छ । त्यसैले  पेसागत मूल्यमान्यताको पालना गर्दै पत्रकारिताको धर्म निर्वाह गर्न आवश्यक छ”, पूर्वप्रधानन्यायाधीश राउतको भनाइ थियो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष नितु पण्डितले पत्रकार र पत्रकारितामाथि प्रश्न उठिरहेको अवस्थामा जिम्मेवारीपूर्वक अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले ग्रामीण क्षेत्रका महत्त्वपूर्ण समाचार पनि उजागर हुन नसकेको भन्दै पत्रकारले सबै क्षेत्रका सवालको प्रतिनिधित्व हुने गरी स्वनियमन र विवेकपूर्वक पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शोभा अर्याल, भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकार, नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्की लगायतले आफ्नो धारणा राख्नुभएको थियो । 

कार्यक्रममा सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका सम्पादक डिल्ली आचार्यलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button