दाङमा लुम्बिनी प्रदेश स्तरीय मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न
दाङ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दाङ शाखाको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय मानव अधिकार शिक्षा कार्यक्रम दाङको दङ्गिशरण गाउँपालिका ३ चखौरामा सम्पन्न भएको छ।

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दाङ शाखाका अध्यक्ष विनोद कुमार श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रीय अध्यक्ष भवानी प्रसाद खरेलको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिकाका उप प्रमुख स्यानी चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि खरेलले मानव अधिकार प्रत्येक नागरिकको मौलिक अधिकार भएको बताउनुभयो। उहाँले मानव अधिकार भनेको केवल अधिकारको विषय मात्र नभई सम्मान, मर्यादा र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार समेत भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले तुलसीपुर उपमहानगरपालिकाले शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँका अनुसार हालसम्म ८३ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार गरिएको छ भने शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउन उपलब्धिमूलक बजेट विनियोजन गरिएको छ।
कार्यक्रममा नेसनल प्याब्सन दाङका अध्यक्ष निर्मल कुमार न्यौपानेले गुणस्तरीय शिक्षाको सुनिश्चिततासँगै मानव अधिकार शिक्षालाई विद्यालयको नियमित अभ्याससँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
यस्तै, मानवअधिकार प्रतिष्ठान दाङका सल्लाहकार भागवत घिमिरेले मानव अधिकारको सम्मान गर्ने संस्कृतिको विकास घर, विद्यालय र समाजबाटै सुरु हुनुपर्ने बताउनुभयो।
ईलाका प्रहरी कार्यालयका प्रमुख हुम प्रसाद पराजुली ले कानुनी शासन, मानव अधिकारको संरक्षण र नागरिक सुरक्षाबिच घनिष्ठ सम्बन्ध रहेको बताउँदै प्रहरी सङ्गठन मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध रहेको बताउनुभयो।
त्यसैगरी, बाल मितेरी भोजपुरका शिक्षक हिमाल कँडेलले विद्यालय स्तरमै मानव अधिकार शिक्षाका लागि स्पष्ट योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रमको सहजीकरण राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दाङ शाखाका सचिव टेकन कँडेलले गर्नुभएको थियो । सो अवसरमा मानवअधिकारका क्षेत्रमा महत्पूर्ण भूमिका निर्वाह गरेको भन्दै मानवअधिकारकर्मी, पत्रकारहरूलाई सम्मान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्