तपाईँ सुन्दै हुनुहुन्छः

खप्तड गंगादशहरा मेला: आस्था, संस्कृति र प्रकृतिको अनुपम उत्सव 

बाजुरा । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय धरोहर खप्तड राष्ट्रिय निकुञ्ज यतिबेला गंगादशहरा मेलाको रौनकताले झिलिमिली बनेको छ। हरियाली फाँट, कुहिरोले ढाकिएका डाँडाकाँडा, चिसो हावा र धार्मिक आस्थाले भरिएको वातावरणले खप्तड पुग्ने जो–कोहीलाई लोभ्याउने गरेको छ। बाजुरा, बझाङ, अछाम र डोटी जिल्लाको संगमस्थल मानिने खप्तडमा यस वर्ष हजारौँ श्रद्धालु भक्तजन तथा आन्तरिक पर्यटकको उल्लेखनीय उपस्थिति रहेको थियो। परम्परादेखि मनाइँदै आएको गंगादशहरा मेलाले धार्मिक महत्वसँगै सुदूरपश्चिमको मौलिक संस्कृति र पर्यटन प्रवर्द्धनलाई पनि जोड्ने काम गरेको छ। मेलाका अवसरमा त्रिवेणी मन्दिर मा विशेष पूजा–आराधना गरिएको थियो। बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको मन्दिर परिसर भक्तिमय बनेको थियो। श्रद्धालुहरूले पूजाआजा गर्दै सुख, शान्ति र समृद्धिको कामना गर्ने गरेका छन्।

मेलालाई थप आकर्षक बनाउन भलिबल प्रतियोगिता, घोडा दौड, देउडा तथा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएका छन्। देउडाका भाकासँगै खप्तडका फाँटहरू गुञ्जायमान बनेका थिए भने स्थानीय कला, संस्कृति र परम्पराले मेलालाई थप जीवन्त बनाएको थियो। प्राकृतिक सौन्दर्यको अनुपम उपहार मानिने खप्तडका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूले पनि पर्यटकको ध्यान तानेको छ। खप्तड बाबाको आश्रम, नागढुङ्गा, खापर दह, केदार ढुङ्गा र सहस्रलिङ लगायतका स्थलहरूमा श्रद्धालु तथा पर्यटकको घुइँचो लागेको थियो। भू–स्वर्गको उपमा पाएको खप्तड पछिल्लो समय धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। यहाँको शान्त वातावरण, दुर्लभ जैविक विविधता, धार्मिक आस्था र मौलिक संस्कृतिले खप्तडलाई विशेष बनाएको छ।

यस वर्षको गंगादशहरा मेलामा करिब ५ हजार ६ सय भक्तजन सहभागी भएको जनाइएको छ। मेलालाई व्यवस्थित र सहज बनाउन विभिन्न निकाय सक्रिय रहेका थिए। यसैबीच, मेलाको अवसरमा नेपाली सेनाको समरजीत गुल्म खप्तड ब्यारेक बाजुराले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। शिविरमार्फत ४ सय ५६ जना भक्तजन तथा पर्यटकले स्वास्थ्य परीक्षण, उपचार र औषधि सेवा लिनुभएको छ। उच्च हिमाली क्षेत्रमा हुन सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै अक्सिजनसहितको स्वास्थ्य टोली परिचालन गरिएको सेनाले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button