यार्सागुम्बा संकलनका लागि मुगुमा आजदेखि बन खुला

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिकाले बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि आजदेखि बन प्रवेश खुला गरेको छ। गाउँपालिकाले जेठ १३ गतेदेखि असार १३ गतेसम्म यार्सागुम्बा संकलन अनुमति प्रदान गर्ने जनाएको हो।
गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार यार्सागुम्बा संकलनका लागि आवश्यक ‘छोडपुर्जी’ वितरण कार्य आजदेखि सुरु गरिएको छ। जिल्ला बाहिरबाट आउने संकलनकर्ताका लागि प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ तथा जिल्ला भित्रकाका लागि २ हजार रुपैयाँ वन प्रवेश शुल्क तोकिएको उहाँले बताउनुभयो।

गाउँपालिकाका अनुसार छापाखोला, रिमार, तल्लो कुईकी, माथिल्लो कुईकी, छुगाेल्डुङ, हाङ्दाङखोला र माजिङथानलगायतका उच्च हिमाली क्षेत्र यार्सागुम्बा पाइने मुख्य पाटनका रूपमा परिचित छन्। यी क्षेत्रलाई यार्सागुम्बा संकलनका लागि उर्वरभूमि मानिन्छ।
हरेक वर्ष मुगुसहित हुम्ला, जुम्ला, कालिकोट, जाजरकोट तथा सुर्खेतलगायत जिल्लाबाट ठूलो संख्यामा संकलनकर्ता यार्सा टिप्न मुगु पुग्ने गरेका छन्। यार्सा संकलन सुरु भएसँगै हिमाली बस्ती तथा पाटन क्षेत्रमा चहलपहल बढेको स्थानीयले बताएका छन्।
गाउँपालिकाले ‘छोडपुर्जी’ प्रणालीमार्फत अनुमति वितरण गर्दै आएको छ। उक्त प्रणालीबाट हरेक वर्ष लाखौँ रुपैयाँ राजस्व संकलन हुने गरेको गाउँपालिकाको भनाइ छ। यार्सागुम्बा संकलनबाट स्थानीयवासीले मौसमी आम्दानी गर्ने भएकाले यसले हिमाली क्षेत्रको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।








प्रतिक्रिया राख्नुहोस्