तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा गर्मीका कारण जनजीवन प्रभावित, ‘हिटस्ट्रोक’ को जोखिम व्यवस्थापन गर्न अस्पतालहरू तयारी अवस्थामा

नेपालगञ्ज। अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि बाँकेका अस्पतालहरूले सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै तयारी तीव्र पारेका छन् ।

गर्मीका कारण ‘हिटस्ट्रोक’ हुने जोखिम बढेपछि पश्चिम नेपालको प्रेषण अस्पतालका रुपमा रहेको भेरी अस्पतालले इमरजेन्सी म्यानेजमेन्ट टिमलाई ‘हाई अलर्ट’ मा राखेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले जानकारी दिनुभयो ।

मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा तापक्रम अझै बढ्ने र वर्षा कम हुन सक्ने पूर्वानुमान गरिसकेको छ । डा। दर्नालका अनुसार बाँकेमा अत्यधिक गर्मी हुने भएकाले मानिसहरूमा ‘हिटस्ट्रोक’ को जोखिम उच्च रहेको छ । ‘त्यसका लागि इमरजेन्सी म्यानेजमेन्ट टिमलाई तयारी अवस्थामा राखेका छौँ’ उहाँले भन्नुभयो ।

उहाँले अस्पतालमा गर्मीजन्य रोगका बिरामी आउने क्रम बढ्दै गएको पनि बताउनुभयो । टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको कमी हुने, ज्वरो आउने लगायतका समस्या भएका बिरामीको संख्या बढिरहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै, चर्को गर्मीका कारण शरीरमा घमौरा आउने, डि-हाइड्रेसन हुने, फुड प्वाइजनिङ हुने, आँखामा एलर्जी तथा संक्रमण देखिने जोखिम उच्च रहने भएकाले आवश्यक सावधानी अपनाउन डा। दर्नालले आग्रह गर्नुभयो । उहाँले गर्मीबाट जोगिन दिउँसोको चर्को घाममा घर बाहिर ननिस्कन आग्रह गर्नुभयो ।

हल्का, सूती र खुला कपडा लगाउन, बाहिर निस्कँदा छाता, टोपी वा सनग्लास प्रयोग गर्न, बासी वा खुला ठाउँमा राखिएको खाना नखान, फलफूल र ताजा खाना बढी खान, प्रशस्त पानी तथा झोलिलो पदार्थ पिउन, अत्यधिक गर्मी महसुस भए तुरुन्त छायाँ वा चिसो ठाउँमा आराम गर्न पनि उहाँले गर्नुभयो ।

लगातार उच्च ज्वरो, बेहोस हुने, सास फेर्न गाह्रो हुने वा बान्ता भइरहने समस्या देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा जान पनि उहाँले सुझाव दिनुभएको छ । चिकित्सकहरूका अनुसार दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी मजदुरहरू बढी प्रभावित भएका छन् । ‘लु’ का बिरामी बाहेक ज्वरो, झाडापखाला र सर्पदंशका केशहरू पनि बढेको उनीहरूले बताएका छन् ।

नेपालको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई जिल्लाहरूका लागि ‘लु‘को चेतावनी र पहाडी क्षेत्रमा ‘तातो दिन’ को चेतावनी जारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button