नेपालगञ्जमा ५ किलोभन्दा बढी अफिमसहित एक जना पक्राउ
बाँके। नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाएको सशस्त्र प्रहरी बलले नेपालगञ्जबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी मातहत बेनवी कालाबन्जरबाट खटिएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१५ पिप्रहवा सीमा क्षेत्रमा जाँचका क्रममा करिब ५ किलो ५ सय ग्राम अफिमजस्तो देखिने पदार्थ र ५ ग्राम चरेसजस्तो देखिने कालो पदार्थ बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दका अनुसार उक्त लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा जुम्लाको साविक घोडेमहादेव–९ (हाल तिला गाउँपालिका–७) घर भई हाल कोहलपुर नगरपालिका–१० बस्ने ६२ वर्षीय रणबहादुर रोकायालाई पक्राउ गरिएको छ ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा विशेष तालिम प्राप्त कुकुरसमेत परिचालन गरी निगरानी बढाएको जनाएको छ । कडा सुरक्षा निगरानीपछि अवैध कारोबारीहरूले वैकल्पिक मार्ग प्रयोग गर्ने प्रयास गरे पनि बरामद गर्न सफल भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्ति र बरामद लागूऔषध आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
सीमा क्षेत्रमा लागूऔषध ओसारपसार, चोरी–तस्करी तथा अन्य अवैध गतिविधि नियन्त्रण गर्न सुरक्षा अभियान थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।






प्रतिक्रिया राख्नुहोस्