बाँकेमा रक्तदान घटेपछि अस्पतालमा रगत अभाव, जानकी गाउँपालिका–५ को आकस्मिक रक्तदान पहल
बाँके।अत्यधिक गर्मीका कारण रक्तदान कार्यक्रम घट्दै जाँदा बाँकेका अस्पतालमा रगत अभाव बढिरहेको अवस्थामा जानकी गाउँपालिका–५ ले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरी उदाहरणीय पहल गरेको छ।
नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जले रगतको स्टक न्यून हुँदै गएको जानकारी दिएपछि वडा कार्यालयको पहलमा आयोजित कार्यक्रममा २० जनाले रक्तदान गरेका हुन्।
कार्यक्रमको उद्घाटन वडा अध्यक्ष टिका नाथ यादवले स्वयं रक्तदान गरेर गर्नुभएको थियो। नेपाल गरिबी निवारण तथा समाज विकास केन्द्र र स्थानीय युवाहरूको सक्रिय सहयोगमा सम्पन्न कार्यक्रममा वडा सदस्य कान्ति काँदु, सरिफ खाँ, सामाजिक अभियन्ता राजन बर्मा, मनमोहन बर्मा, जगत बर्मा, बिमल बर्मा, साबितराम बर्मा लगायत स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
वडा अध्यक्ष यादवले ग्रामीण क्षेत्रमा अझै पनि रक्तदानप्रति डर र भ्रम रहेको उल्लेख गर्दै “रगत लिन मात्रै होइन, दिन पनि तयार हुनुपर्छ” भन्ने सन्देश दिन गाउँमै कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले यस्ता सामाजिक अभियानले आपत्कालीन अवस्थामा धेरैको ज्यान बचाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीका अनुसार गर्मी मौसम सुरु भएसँगै रक्तदान कार्यक्रम घट्दा रगत सङ्कलन न्यून भएको छ भने बिरामीको चाप बढेसँगै माग अत्यधिक बढिरहेको छ।
उहाँका अनुसार पश्चिम नेपालका तीन प्रदेशबाट उपचारका लागि बिरामी आउने भएकाले बाँकेका अस्पतालमा दैनिक ठूलो मात्रामा रगत आवश्यक पर्ने गरेको छ। हाल केन्द्रमा विभिन्न समूहको गरी ४० देखि ५० पिन्टभन्दा बढी मात्र रगत स्टकमा रहेको र मागअनुसार आपूर्ति गर्न कठिन भइरहेको उहाँले बताउनुभयो।
रक्तदान भएको दिन मात्रै सहज रूपमा रगत उपलब्ध हुने र अन्य समयमा अभाव झेल्नुपर्ने अवस्था रहेको भन्दै प्रमुख रेग्मीले सामाजिक सञ्जालमार्फत रक्त समूह नै उल्लेख गरेर रगत माग गर्नुपर्ने अवस्था आएको जानकारी दिनुभयो।
नेपालगन्ज, खजुरा र कोहलपुरका अस्पतालमा दैनिक ८० देखि १०० पिन्ट रगत आवश्यक पर्ने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ। बाँकेमा कम्तीमा एक हजार पिन्ट रगत स्टकमा राख्न सकिए अभावको समस्या धेरै हदसम्म समाधान हुने रेडक्रसको भनाइ छ।
थालासेमिया र सिकलसेलका बिरामीलाई नियमित रूपमा रगत आवश्यक पर्ने भएकाले रक्तदानलाई निरन्तर अभियानका रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ।








प्रतिक्रिया राख्नुहोस्