तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेश सभाबाट आज विश्वासको मत प्राप्त गर्नुभएको छ । 

मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभामा विश्वासको पक्षमा ६२ जना प्रदेश सभाका सदस्यहरुले मत दिनुभयो । 

विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ३६ जना प्रदेश सभाका सदस्यहरूको मत परेको मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले प्रदेश सभाको बैठकमा घोषणा गर्नुभएको थियो । 

मधेश प्रदेश सभामा १०७ सदस्य हुनुहुन्छ ।

मधेश प्रदेश सरकारमा रहेका जनमत पार्टीले गत वैशाख २३ गते मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई दिएको विश्वासको मत फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिनुभएको हो ।

मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई नेपाली काँग्रेसका २२, नेकपा एमाले २४, नेपाली कम्युनिष्ट पार्टी १५ र नेपाल संघीय समाजवादी पार्टी नेपालका १ सदस्यहरुले विश्वासको मत दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button