महाकालीमा अवैध उत्खनन, अख्तियारमा उजुरी
बैतडी । बैतडी–नेपाल–भारत सीमाना नदी महाकाली किनारमा भएको अवैध उत्खननको विषयमा अख्तियारमा उजुरी परेको छ । अवैध रुपमा उत्खनन् भइरहेको उजुरी परेपछि अख्तियारले पनि चासो देखाएको हो ।

अख्तियारमा उजुरी परेपछि अवैध रुपमा उत्खनन भएको विषयमा कानुन अनुसार अघि बढ्ने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाले जानकारी दिनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले पञ्चेश्वर गाउँपालिकालाई गाउँपालिकालाई पालिकालाई वास्तविक जानकारी दिनभन्दै पत्र पठाएको थियो ।
अख्तियारमा उजुरी परेको विषयमा गाउँपालिकामा पत्र आएको र यस विषयमा आवश्यक प्रक्रिया अघि बढ्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरसिंह भण्डारीले जानकारी दिनुभयो । नदी उत्खननको लागि कुनै पनि निर्माण कम्पनीलाई गाउँपालिकाबाट अनुमति नदिइएको समेत प्रमुख प्रशासकीय अधिकृत भण्डारीले स्पष्ट पार्नुभयो ।
गत माघ देखि नै सीमा नदी महाकालीमा पर्ने जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ जंगल्तडा क्षेत्रमा कन्काइ कुमार केएस जेभीले लगातार उत्खनन गरिरहेको थियो । उक्त क्षेत्रमा क्रसर नै राखेर उत्खनन भइरहेको हो । उक्त कम्पनीले भौतिक पूर्वाधार कार्यालय बैतडीबाट मेलौलीदेखि पञ्चेश्वरसम्मको सडक स्तरोन्नतिको जिम्मा पाएको हो ।
क्रसर मापदण्ड २०७७ अनुसार सिम नदीभन्दा एक किलोमिटर टाढा वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्रै क्रसर सञ्चालन गर्न पाउने व्यवस्था रहेको छ । यसैगरी ढुङ्गा गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ ले पनि वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गरेर मात्रै उत्खनन तथा क्रसर उद्योग सञ्चालन गर्न पाउने व्यवस्था रहेको छ । तर उक्त निर्माण कम्पनीले भने कुनै प्रक्रिया नपु¥याएर महाकाली नदीमै उत्खनन गर्दै क्रसर सञ्चालन गरिरहेको थियो ।
अवैध उत्खननको विषयमा अनुगमनको जिम्मेवारी जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति रहने व्यवस्था छ ।
अवैध रुपमा उत्खनन भइरहेको विषय बाहिर आएपछि अहिले जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वयले थप चासो दिएका छन् । जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र सिंह धामी, समन्वय समितिको कार्यालयका प्रमुख रघुनाथ अवस्थी सहितको टोलीले बिहीबार मात्रै गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको थियो । तर छलफलमा कुनै ठोस रुपमा कानुनी विषयमा अघि बढ्ने विषयमा सहमति भएको छैन ।








प्रतिक्रिया राख्नुहोस्