तपाईँ सुन्दै हुनुहुन्छः

लिग–२ : नेपालले अमेरिकालाई दियो ३१८ रनको विशाल चुनौती

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालले ३ सय १८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १७ रन बनाएको हो । वर्षाका कारण केही ढिलो सुरु भएको खेलमा नेपालका लागि इशान पाण्डे र दीपेन्द्रसिंह ऐरी चम्किएका हुन् ।

नेपाललाई आसिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए । आसिफले ४३ तथा भुर्तेलले २९ रन बनाए । त्यसपछि कप्तान रोहित पौडेल र इशान पाण्डेले शतकीय साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाले । इशानले ८४ रनको उत्कृष्ट इनिङ्स खेले भने रोहित ४६ रनमा आउट भए ।

दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै ३६ बलमा ५९ रन बनाए । उनले ४ चौका र ४ छक्का प्रहार गरे । गुल्शन झाले १५, आरिफ शेखले १८ रन जोडे ।

अमेरिकाका शुभम रञ्जानेले ३ विकेट लिए भने रुशिल उगारकर र मिलिन्द कुमारले समान १ विकेट लिए ।

सन् २०२७ को एकदिवसीय विश्वकप छनोट यात्राका लागि महत्त्वपूर्ण मानिएको लिग–२ अन्तर्गतको यो सिरिजको अन्तिम खेल हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button