तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती नदीको बहावका कारण वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

बाँके। राप्ती नदीको सिधनियाघाटमा निर्माणाधीन वैकुण्ठधामको मुख्य संरचना निर्माण कार्य तत्काल अघि नबढ्ने भएको छ । राप्ती पुल निर्माणको बाँकी काम तथा नदी डाइभर्सन प्रक्रिया पूरा नभएकाले निर्माण कार्य अस्थायी रूपमा स्थगित गरिएको वैकुण्ठधाम समितिले जनाएको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय नेपालगन्जमा बसेको सरोकारवाला निकायहरूको संयुक्त बैठकले हालको प्राविधिक अवस्था र नदीको बहावका कारण वैकुण्ठधाम निर्माण अघि बढाउन उपयुक्त अवस्था नरहेको निष्कर्ष निकालेको हो । बैठकमा पुल निर्माणको प्रगति, नदी नियन्त्रण, संरचनागत अवस्था तथा आगामी कार्ययोजनाबारे समीक्षा गरिएको थियो ।

सार्वजनिक विवरणअनुसार वैकुण्ठधाम निर्माणका लागि आर्थिक वर्ष २०८१/८२ मा २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सोहीअनुसार सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय बाँकेले न्यू नेशनल बिल्डर्स, भीमेश्वर–१० दोलखासँग १ करोड ६५ लाख ९० हजार ५ सय ४२ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण सम्झौता आर्थिक वर्षको अन्तिम समयमा भएकाले काम निर्धारित अवधिमा सम्पन्न हुन नसकेको र आयोजनाको म्याद आर्थिक वर्ष २०८२/८३ सम्म थप गरिएको जनाइएको छ । चालु आर्थिक वर्षमा थप ३ करोड रुपैयाँ बजेट विनियोजन भए पनि अघिल्लो ठेक्काअन्तर्गतको काम पूरा नभएकाले नयाँ प्रक्रिया अघि बढ्न सकेको छैन ।

बैठकमा सहभागी सरोकारवालाहरूले वैकुण्ठधाम निर्माणलाई राप्ती नदीमाथि निर्माणाधीन ७ सय मिटर लामो पुलसँग समन्वय गरेर अघि बढाइएको बताएका छन् । पुल निर्माणसँगै गरिने नदी नियन्त्रण तथा डाइभर्सन कार्यसँग सहकार्य गरी घाट निर्माण गर्ने रणनीति बनाइएको उनीहरूको भनाइ छ ।

हाल पुलको पश्चिमतर्फका दुई वटा स्पान ढलान गर्न बाँकी रहेको छ । वर्षायाम नजिकिँदै जाँदा नदीको गहिरो बहाव क्षेत्रमा पियर–१० को क्याप निर्माण भइरहेकाले थप जोखिम रहेको बैठकले जनाएको छ ।

बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को माघभित्र बाँकी दुई स्पानको ढलान सम्पन्न गर्ने लक्ष्य तय गरेको छ । त्यसपछि हिउँदमा नदी डाइभर्सन गरी वैकुण्ठधामको जग निर्माणको काम अघि बढाइने निर्णय गरिएको छ ।

वैकुण्ठधाम सिधनियाघाटका अध्यक्ष डा. सुरेश कुमार कनोडिया ले परियोजनामा आएको ढिलाइ “काबुबाहिरको परिस्थिति” का कारण भएको बताउँदै धैर्यता अपनाइदिन बाँकेवासी, सहयोगदाता तथा शुभेच्छुकसँग आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button